गणेश सामुदायिक वन ः रुख होइन टिकट काटेर मनग्ये आम्दानी


दाङ, ५ कात्तिक (रासस) ः वनबाट रुख काटेर होइन टिकट काटेर आम्दानी गर्न सकिन्छ भने उदाहरण दाङको एउटा सामुदायिक वन समूहले दिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको गणेश सामुदायिक वन समूहले निर्माण गरेको ‘राप्ती शान्ति उद्यान’ घुम्न आउने पर्यटकले काटेको टिकटबाट मनग्ये आम्दानी गर्नाका साथै यतिखेर सबैका लागि अनुकरणीय बन्न पुगेको हो । सामुदायिक वनभित्रको साढे नौ हेक्टर क्षेत्रफलमा विशाल बुद्ध प्रतिमा, आकर्षक पानीका फोहोरासहितको जलकुण्ड, चिडियाखाना, वनस्पति पार्क, गणेश मन्दिर, फनपार्कलगायत वनभोजस्थल निर्माण गरिएको शान्ति उद्यान निर्माण समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०५९ सालदेखि निर्माण सुरु गरिएको पार्क लगभग एक दशकपछि २०७२ सालदेखि टिकट काटेर अवलोकन सुरु गरिएको हो । उद्यान निर्माणमा हालसम्म रु छ करोडभन्दा बढी लगानी भइसकेको छ । सामुदायिक वन समूहको रु ५५ लाखसहित सङ्घ, प्रदेश र स्थानीय सरकार, डिभिजन वन कार्यालय, लुम्बिनी प्रदेश पर्यटन बोर्डलगायत विभिन्न सङ्घसंस्थाबाट रु पाँच करोड ४५ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

उद्यान प्रवेशका लागि स्वदेशी र विदेशी पर्यटकलाई रु ३० को एउटै टिकटदर कायम गरिएको बताउँदै अध्यक्ष भण्डारीले पार्कबाट सामुदायिक वनले हालसम्म टिकट काटेर रु एक करोडभन्दा बढी आम्दानी गरिसकेको जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता समूह, पार्क व्यवस्थापन समिति र बाल उद्यान सञ्चालकबीच आपसी सम्झौताअनुसार भौतिक संरचना निर्माण गरिएको थियो । पौडी पोखरीसमेत रहेको फनर्पाकभित्र निर्माण गरिएका मनोरञ्जनका साधनको भने छुट्टाछुट्टै टिकट दर कायम गरिएको छ ।

कोरोनाको असर रहे पनि गत वैशाख १ गते नयाँ वर्षका दिन मात्रै सात हजारभन्दा बढी सर्वसाधारणले टिकट काटेर पार्क अवलोकन गर्दा एकैदिनमा रु दुई लाख आम्दानी भएको थियो । कोरोना सङ्क्रमण कम भएसँगै स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गर्दै खुल्ला गरिएको पार्कमा हाल दैनिक ४०० देखि एक हजारसम्म सर्वसाधारणले टिकट काटेर अवलोकन गर्दै आएका छन् ।

“राज्यसँग असन्तुष्ट पक्षले राप्ती अञ्चलको रोल्पाबाट युद्धको शुभारम्भ भएकाले राप्तीबाटै युद्धको अन्त्य हुनुपर्दछ भन्ने सन्देश दिने लक्ष्यका साथ राप्ती शान्ति उद्यान निर्माण गरिएको हो”, अध्यक्ष भण्डारीले भन्नुभयो, “मुलुकमा शान्ति स्थापना भएको र त्यही पार्क अहिले यस क्षेत्रकै थप एउटा पर्यटकीय गन्तव्यरुपमा विकास हुँदै वन समूहको राम्रो आम्दानीको स्रोेत पनि बनेको छ ।”

पार्कको प्रवेशद्वारमै रहेको १४ फिटको अर्धकदको पहेँलो धातुबाट निर्मित बुद्ध प्रतिमा यतिखेर टिकट लिएर प्रवेश गर्ने आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । कूल ३१ लाखको लागतमा निर्मित प्रतिमा एक वर्षअघि कात्तिक महिनामा अनावरण गरी सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । बुद्ध प्रतिमासँगै तुलसीपुर उपमहानगरपालिकाद्वारा निर्मित धुप घडी देख्न सकिन्छ । प्राचिन युगमा सूर्यको उपस्थितिमा सञ्चालन हुने जुन १८ इन्चीको धुप घडीले फेरि एकपटक इतिहास ब्युँझाइदिएको छ ।

अवलोकन कर्ताका लागि पार्कमा अर्को मिनी चिडियाखाना आकर्षणको केन्द्र बनेको छ । बाँघको मुखको आकृतिबाट प्रवेश गरिने चिडियाखानामा यतिखेर चितुवा, रतुवा मृग, बाँदर, दुम्सी, स्याल, खरायो, उल्लु, चिललगायत विभिन्न प्रजातिका जङ्गली जनावर तथा चराचुरुङ्गी राखिएको छ । चिडियाखानामा सम्भव भएसम्मका अन्य जनावर पनि थप्दै जाने सञ्चालक समितिको तयारी रहेको छ ।

पार्कमा अचम्म लाग्दो अर्को कुरो के छ भने तनहुँ जिल्लामा मावनमाथि आक्रमण गर्ने नरभक्षी चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालयले जङ्गलमा थापेको पासोमा परेको एउटा चितुवा यतिखेर सो चिडियाखानामा देख्न सकिन्छ । गण्डकी प्रदेशबाट लगिएको उक्त चितुवा अहिले लुम्बिनी प्रदेशको सो उद्यानमा राखिएको छ । जुन चितुवा पार्कको आकर्षण बनेको छ । सहरमा पसेको मृग घाइते अवस्थामा भेटियो । त्यसको उद्धारपश्चात् उपचार गरेर शान्ति पार्कमा राखिएको छ । जुन पार्कको अर्को आकर्षण बनेको छ । त्यसले पनि जनावरलाई मार्नुभन्दा पनि संरक्षणसँगै प्रदर्शन गरेर थप आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण दिएको छ ।

पार्कमा चाडपर्वका साथै असोज, कात्तिक र मङ्सिर महिनामा मुलुकका विभिन्न स्थानबाट शैक्षिक भ्रमणमा आउने सङ्ख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ । विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट अवलोकन गर्न बढी आउनुका साथै अन्य प्रदेशबाट पनि उद्यान अवलोकन आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको गणेश सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष लिला विश्वकर्माले जानकारी दिनुभयो ।

पार्कमा अहिले छ जनाले प्रत्येक्ष रोजगार प्राप्त गरेका छन् । सामुदायिक वनको अन्य क्षेत्रमा सालको घनाजङ्गल भए पनि उक्त स्थानमा तत्कालीन अवस्थामा फडानी गरी खाली भएको ठाउँमा बस्ती बस्ने प्रयास भएको थियो । जिल्ला वन कार्यालयको पहल र स्थानीय उपभोक्ताको सक्रियतामा अतिक्रमणबाट बचाउन सफल उक्त क्षेत्रमा पार्क निर्माण गरिएको उहाँको भनाइ छ ।

विशेष गरी भिडियो बनाउने, टिकटक र तस्बिर खिच्ने आकर्षण केन्द्रको रुपमा विकास हुँदै गएको पार्कमा अवलोकनकर्ताले दुईदेखि तीन घण्टासम्म समय बिताउने गरेका छन् । विश्वकर्माले आप्mनो निजी खर्च रु तीन लाखको लागतमा चिडियाखाना प्रवेशद्वारमा बाघको मुखको आकृति निर्माण गर्नुभएको हो । वन समूहले आगामी दिनमा एम्बुलेन्ससमेत सञ्चालन गर्ने तयारी गरिरहेको कोषाध्यक्ष विश्वकर्माले राससलाई बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार शान्ति उद्यान दाङको मात्र नभई एउटा मुलुककै नमूना पार्क वनन सफल भएको छ । यसले सामुदायिक वन समूहले वन पैदावार निकासीबाट मात्र होइन पर्यापर्यटन विकास गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । पार्क निर्माणसँगै टिकट काउण्टरदेखि टेम्पो, बससहित त्यस क्षेत्र आसपासमा व्यापार व्यवसायीलाई समेमत सहयोग पुग्नुका साथै उक्त उद्यान सञ्चालन भएसँगै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा ५०० भन्दा बढीले दैनिक रोजगारी प्राप्त गरेका छन् उहाँको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकारसमेत रहनुभएको पाण्डेले वनले रुख काटेर काठ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्दा कानूनी झन्झटिलो भई मुद्दा मामिलाका कारण कतिपय उपभोक्ताले दुःख पाइराखेको बताउँनुभयो । वर्तमान अवस्थामा शान्ति उद्यान पार्कले टिकट काटेर एकैदिनमा लाखौँ रुपैयाँ आम्दानी गर्दा भने कुनै समस्या छैन । यस्ता कार्यले वनको संरक्षण गर्दै त्यसबाट वैकल्पिक आयआर्जन र रोजगारीको सिर्जना गर्न सहयोग पुग्ने विश्वास उहाँको छ ।

उपमहानगरपालिकाभित्र कूल १११ वटा सामुदायिक वन समूह रहेका छन् जसमा सम्भाव्यता अध्ययनका आधारमा विभिन्न भौतिक संरचना निर्माण गरी पर्यापर्यटन विकासमा जोड दिइएको छ पाण्डेले भन्नुभयो, वनमा आधारित घरेलु उद्योगमार्पmत विभिन्न वस्तु उत्पादन सुरु गरिएको छ । उत्पादित वस्तु बजारमा रहेको कोशेली घरबाट बिक्री गर्ने व्यवस्था उपमहानगरले गरेको छ । यसबाट सामुदायिक वनका उपभोक्ताले थप आयआर्जनमा सहयोग पुग्ने विश्वास छ ।

गणेश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर बिसीका अनुसार कूल १०५ हेक्टर क्षेत्रफलमा पैmलिएको वन समूहमा ५०० घरपरिवार उपभोक्ता रहेका छन् । समूहले सालघारीभित्र वनभोजस्थल निर्माण गरेको छ । तिहारपछि वनभोज खाने समूह बढी आउने र कहिलेकाहीँ त २० वटा समूहसम्म आउने गरेको उहाँको भनाइ छ ।

बिसी भन्नुहुन्छ, “वनभोजस्थलमा ट्रस भवन, विद्युत्, खानेपानीको राम्रो व्यवस्था छ । एउटा समूहसँग रु एक हजार शुल्क लिने गरिएको छ ।” सालको रुख हुर्काएर उपयोग गर्न दशकौ लाग्ने र पार्क र वनभोजस्थलबाट दैनिक आम्दानी हुने हुँदा भविष्यमा वनको संरक्षण र विकाससँगै आवश्यकता अनुसार थप भौतिक पूर्वाधार निर्माण गर्दै लैजाने समूहले लक्ष्य लिएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष भारती पाठकले श्रीगणेश सामुदायिक वन समूहले निर्माण गरेको राप्ती शान्ति उद्यानको अवलोकनपश्चात् वन समूहको नेतृत्वमा पर्यापर्यटन विकासमा योगदान पु¥याउन सक्दछन् भन्ने उदाहरण भएको राससलाई प्रतिक्रिया दिनुभयो । “दिगो वन व्यवस्थापन, समुदायमा आधारित वन उद्यमको विकाससँगै हरित रोजगारी सिर्जना गरी सरकारको राष्ट्रिय सङ्कल्प पूरा गर्न सकारात्मक भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पार्क निर्माण, व्यवस्थापन र सञ्चालनले पर्यापर्यटनका लागि निजी क्षेत्र होइन वन समूह नै सक्षम छन् भन्ने ज्वलन्तर उदाहरण दिएको छ ।”

सालको घना जङ्गल क्षेत्रभित्र निर्मित उद्यानसम्म पुग्नका लागि तुलसीपुर सल्यान सडकखण्ड हुँदै रक्षाचौर आँखा अस्पतालदेखि पूर्वउत्तरतर्पm घोराही खण्डको वीरेन्द्रचोकदेखि उत्तरमा पर्ने सो स्थानसम्म पुग्नका लागि यातायातको सुविधा छ ।

प्रतिक्रिया दिनुहोस