विश्वासको मतको प्रस्ताव पेश


प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गर्नुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४) बमोजिम सदनमा सो प्रस्ताव पेश भएको हो । मुख्यमन्त्री आचार्यले प्रस्ताव पेश गर्नुअघि केही दिनअघि अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले अविरल वर्षाकै कारण प्रदेशमा ७० जनाले ज्यान गुमाएका, १८ जना घाइते र १२ जना बेपत्ता, ४० वटा घर बगाएको र एक हजार ८२५ घरमा आंशिक क्षति भएको जानकारी गराउनुभयो ।

उहाँले अविरल वर्षाकै कारण प्रदेशमा १० हेक्टर जमिनमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको र लगभग ५० हजार हेक्टर जग्गाको धानबालीमा आंशिक क्षति भएको तथा अन्य क्षतिको विवरण आउन बाँकी रहेको जनाउँदै मृतकका प्रति परिवारलाई रु एक लाख, पूर्ण क्षति भएको घरलाई रु तीन लाख, आंशिक क्षति भएको परिवारलाई रु ३५ हजार र सामान्य क्षति भएका परिवारलाई रु १५ हजार राहतस्वरुप प्रदेश सरकारले प्रदान गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यले धानबालीमा भएको क्षतिप्रति प्रदेश सरकारले कृषकको क्षतिमा २५ प्रतिशत राहत प्रदान गर्ने बताउनुभयो । प्रदेशसभाको अर्को बैठक कात्तिक ७ गते मध्याह्न १२ः३० बजे बस्ने र विश्वासको मत विभाजनबाट हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

यो पनि – बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताउनुभएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताउनुभएको हो ।

“अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “त्यसपश्चात् दीर्घकालीनरुपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ ।” उहाँले बर्सेनि कैलालीमा बाढी र डुबानको समस्या झेल्दै आएका नागरिकलाई दीर्घकालीनरुपमा व्यवस्थापन हुनेगरी सरकारले योजना बनाउने बताउँदै बाढी र डुबानका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेका अवस्थामा उहाँहरुका लागि दीर्घकालीन राहत प्याकेजको सरकारले व्यवस्थापन गर्ने स्पष्ट गर्नुभयो ।

साथै प्रधानमन्त्री देउवाले विपत्तिका कारण भएको धनजनको क्षतिलाई प्रत्यक्षरुपमा निरीक्षण गरिएको बताउँदै प्रभावित क्षेत्रको वस्तु स्थितिलाई नजिकबाट नियालेका कारण पनि अहिलेको समस्यालाई समाधानका लागि सरकारले तत्काल योजना बनाएर अगाडि बढ्ने आस्वासन दिनुभयो ।

आज प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको टोलिले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएको हो । कैलालीमा बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हजारौँ परिवार विस्थापित भएका छन् भने सयौँ बिघा क्षेत्रफलमा लगाइएको अन्न तथा तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस