पूर्वप्रधानन्यायाधीशको आह्वान : न्यायपालिका जोगाउन लागौँ


पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउनका लागि अग्रसर हुन सम्पूर्ण न्यायाधीश, कानून व्यवसायी, न्यायका उपभोक्तालगायत सबैलाई आह्वान गरेको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले आज ‘न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण’ सार्वजनिक गर्दै उक्त आह्वान गर्नुभएको हो ।

“मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्दछ, यो वान्छनीय र अनिवार्य पनि देखिएको छ,” उक्त विश्लेषणमा भनिएको छ, “प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि हामी आह्वान गर्दछौँ ।”

प्रधानन्यायाधीश र दलबीच भागबन्डाको कुरा बाहिरिनु र त्यसलाई बल पुग्नेगरी भएका क्रियाकलापले न्यायपालिकाप्रति जनआस्था गम्भीर खतरामा परेको पूर्वन्यायाधीशहरुको भनाइ छ । फोरमले पूर्वन्यायाधीशले भागबन्डाको आधारमा अनुभवहीन व्यक्तिलाई सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिनुले न्यायिक विचलन र विकृति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

यो पनि – नेकपा एकीकृत समाजवादीको ७३ जिल्ला कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले आज जारी गर्नुभएको विज्ञप्तिमा चारवटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन गरिएको छ । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको छ ।

अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेका छन् । पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताको स्वःस्फूर्त सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिन) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको छ । त्यसमध्ये ‘कलम’ को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाइएको छ । पार्टीको आधिकारिक वेबसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिएको विज्ञप्तिमा पार्टीका पाँच सङ्घीय सांसदले मन्त्रिपरिषद्मा सहभागिता जनाउनुभएको भनिएको छ ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ । गत भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न भएको छ । सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन् । केन्द्रीय आयोग र निकायहरु गठन भइसकेका छन् । केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन् । ती विभागहरुलाई पूर्णता दिनका निम्ति देशभरबाट विभागको कार्यक्षेत्र, प्रकृति र चरित्रअनुसारका छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सबै जनसङ्गठन, पेशागत तथा सामुदायिक सङ्गठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी छन् । पार्टीको सम्पूर्ण जिल्ला कमिटी, जनसङ्गठनसहित विविध पेशागत तथा सामुदायिक सङ्गठनका इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने काम सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस