यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति


निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ । प्रवक्ता बर्तौलाका अनुसार दक्षिण एशियाली राष्ट्रहरुमा भने बङ्गलादेश श्रीलङ्का, भुटान, भारतलगायतका देशमा तत्कालै उडान गर्ने गरी तयारी भएको छ । यात्रु चार्टर्ड र कार्गो उडानको अवस्थालाई हेरेर दक्षिण पूर्वी एशियाली मुलुकमा क्रमशः नियमित उडान गरिने एयरलाइन्सले जनाएको छ ।

विशेषगरी यी क्षेत्रबाट धार्मिक पर्यटक बढीभन्दा बढी नेपाल भित्र्याउने उद्देश्यका साथ कम्पनीले चार्टर्ड उडान गरेको जनाएको छ । यती एयरलाइन्ससँग हाल छोटा दूरी तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नसक्ने क्षमताका पाँच थान एटीआर–७२ जहाज रहेका छन् । यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले उडान अनुमति पाइसकेका छन् ।

यो पनि – नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो । बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।” वर्षात्का कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातयात सेवाका लागि निकै सास्ती हुँदै आएको छ । बाढी, पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुग्नुभएका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिराले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उहाँले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिनुभएको हो ।

मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ । मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौँ पनि उडान गर्ने भएको छ ।

यसैबीच मन्त्री आलेले आजै कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलकोसमेत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले गेटा विमानस्थललाई राष्ट्रियस्तरको विमानस्थलमा बिस्तार गर्नुपर्ने बताउनुभएको थियो । कूल ८३ बिघा क्षेत्रफल रहेको विमानस्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गर्नेसमेत मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस