एमाले सचिव योगेश भट्टराई उपचारका लागि अस्पताल भर्ना


नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएको छ । सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि आज उहाँको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो । भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिनुभएको छ ।  “उच्च ज्वरोका कारण आज उपचारका लागि वीर अस्पतामा भर्ना गरिएको छ”, एमाले सचिव भट्टराईका स्वीकीय सचिव गुरागाईंले रासससँग भन्नुभयो, “उपचार भइरहेको छ, चिकित्सकले एकहप्तासम्म पूर्णरूपमा आराम गर्न भन्नुभएको छ ।”

यो पनि – आयुर्वेद चिकित्सक डा शेषराज आचार्यको निधन

आयुर्वेद चिकित्सक तथा साहित्यकार डा शेषराज आचार्यको ७८ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ । विसं २००० मा तनहुँमा जन्मनुभएका आचार्यले आयुर्वेदमा आचार्यसम्मको अध्ययन गर्नुभएको थियो । एकचालीस वर्ष नेपाल सरकारको सेवामा बिताउनुभएका उहाँ आयुर्वेदका विज्ञ हुनुहुन्थ्यो । उहाँले नरदेवी आयुर्वेद औषधालय र आयुर्वेद विभागमा निर्देशक पदमा रही कार्य गर्नुभएको थियो । यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशकका रूपमा पनि उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

कोरोना सङ्क्रमित भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका आचार्यको आज दिउँसो देहावसान भएको उहाँका भाइ डा व्रतराज आचार्यले राससलाई जानकारी दिनुभयो । स्वर्गीय आचार्यका श्रीमती डा कादम्बरी आचार्य, चार छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँ आहिताग्नी दीक्षित तीर्थराज र विष्णुमायाका सुपुत्र हुनुहुन्थ्यो । जीवनको उत्तराद्र्धमा काव्यसाधनामा तल्लीन रमाउने गर्नुहुन्थ्यो । उहाँका हिम हिमा खण्डकाव्य, शब्द तरङ्गिणी र अतीतका स्मृतिहरू कविता सङ्ग्रह तथा सचित्र जडीबुटी सङ्ग्रह प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस