मुख्यमन्त्री पोखरेलद्वारा ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माछापुच्छ«े गाउँपालिका–६ भिडाबारीमा निर्माण प्रस्ताव गरिएको ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन गर्नुभएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले फुटबलको ‘ड्रिम प्रोजेक्ट’का रूपमा फिफाको लगानीमा टेक्निकल सेन्टर निर्माणको अवधारणा अघि सारेर प्रक्रिया सुरु गरेको सो स्थलको आज मुख्यमन्त्री पोखरेलले निरीक्षण गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई चार चरणमा सक्ने तयारी एन्फाको छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट सो परियोजना बन्नेछ ।ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङ सञ्चालन गर्ने एन्फाको योजना छ । असी जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना रहेको बताइन्छ ।

अभ्यासका लागि चार खेल मैदानसहित होस्टेल (छात्रबास), जिम हल, गेस्ट रुम(पाहुनाघर), स्विमिङ पुल, पुस्तकालयलगायतका संरचना बनाउने योजना एन्फाको छ ।मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश समृद्धिको मूल आधार पर्यटन भएको र पर्यटनभित्र खेलकुदका गतिविधिलाई समेट्न सकिने बताउनुभयो । पोखराबाट नजिकै अनि हिमालको काखमा प्रस्ताव गरिएको टेक्निकल सेन्टर निर्माण भएमा पोखरा, गण्डकी मात्र होइन नेपालकै लागि गौरव गर्न लायक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

फुटबल खेल अहिले हरेक परिवारको रुचिको विषय भएकाले पनि यसको प्रवद्र्धनका लागि लगानी गर्न मन सानो गर्न नपर्ने बताउँदै उहाँले भन्नुभयो, “यो सेन्टरले पोखरा र माछापुच्छ«ेलाई विश्वसामु चिनाउने छ ।” मर्दी र इदी खोलाबीचमा खुला जमिनमा सेन्टर प्रस्ताव गरिएकाले प्रदेशको क्षमताअनुसार तटबन्धनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्रीले जनाउनुभयो ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत गोकुल थापाले ३४२ रोपनी क्षेत्रफलको जमिन २० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भइसकेको जानकारी दिनुभयो । डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेर मन्त्रालयमा बुझाइसकेको भन्दै अब छिटै शिलान्यास गरिने उहाँले जानकारी दिनुभयो ।प्रस्तावित स्थल मर्दी खोलाले कटान गर्ने भएकाले तटबन्धनको काम भने पहिले नै गर्नुपर्ने हुन्छ । तटबन्धनका लागि गाउँपालिका र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु ५०÷५० लाख गरी रु एक करोड बराबरको काम भइसकेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तटबन्धका लागि थप रु चार करोड ५० लाख आवश्यक पर्छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्का अध्यक्ष तेजबहादुर गुरुङले नेपालकै लागि गौरवको यो योजना सफल पार्न सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले विभिन्न अड्चन बेहोर्दै परियोजना अहिलेको अवस्थामा आइपुगेको भन्दै अब छिटोभन्दा छिटो शिलान्यास गरेर काम थाल्नुपर्नेमा जोड दिनुभयो । एन्फा कास्की अध्यक्ष मिलन गुरुङले यो परियोजनालाई कमजोर बनाउन चारैतिरबाट आक्रमण भइरहे पनि आफू निरन्तर लागिरहेको बताउनुभयो ।

अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, प्रदेश सरकारका प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद आचार्य, प्रदेश खेलकुद परिषद्का पदाधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस