पहिरोले मुक्तहलियाको उठिबास


डडेल्धुरा, ६ कात्तिक (रासस) ः यसै साता भएको अविरल वर्षाका कारण खसेको पहिराले अजयमेरु–१ मुद्राडका मुक्त हलिया केशव पार्कीका परिवारकै उठिबास भएको छ । तीन दशकभन्दा बढी समय अरुको हलेटी (हलिया) लगाई परिवारको गुजारा चलाउँदै आउनुभएका उहाँ पछिल्लो एक दशकदेखि (क) वर्गको मुक्तहलियाको परिचयपत्र लिएर पुख्र्यौली पेसामै अश्रित रहादै आउनुभएको थियो ।

अहिले केशवका दुई नाति, छोराबुहारी र बूढाबूढी गरी छ जनाकै उठिबास भएकोे छ । अहिले उनीहरु अजयमेरु–१ मुद्राडमा आफन्तको घरमा आश्रित भएर गाउँलेकोे सहयोगमा छाक टारिरहेको स्थानीयवासी अनिता भण्डारीले जानकारी दिनुभयो । गाउँलेका कारण मुखमा माडसम्म लगाउन पाएका छौँ, केशवकी श्रीमती पशुपतिले भन्नुभयो, “दसैँमा जोगाएर राखेको भत्ता पनि पहिरोमा गयो । यसरी परिवारको विचल्ली नै हुने गरि दुःख खेप्नुभन्दा तेही पहिरामा आफू पनि गएको भए हुन्थ्यो”, आँसु झार्दै उहाँ भक्कानिनुभयो । बुढेसकालमा सरकारले बनाई दिएको घरमा पनि वस्न पाइएन, उमेरमा त अरुकै घरमा बसियो हलिया भएर । केही समयमा भारतमा पनि बिताइयो, पछिल्लो समयममा सानो घर बनाएर छाक टारीरहेका थियौँ, त्यो पनि दैवले खोस्यो पशुपतिको गुनासो थियो ।

जिल्लाभर पहिरोका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन् । मुद्राड खोली बस्ने केशव हलियामुक्त भएको धेरै समय भएको छैन । पहिरोमा परेको दुईतले घर पनि मुक्त भएपछि सरकारले निर्माण गरिदिएको थियो तर उक्त घर नै पहिराले लगेपछि पछि केशवको कुनै सम्पत्ति बाँकी छैन ।

“सानो नाति घर खोज्दै कराइरहेको छ, दुहुनो गाई पहिरोले नै खायो, अरुले दिएको पिठो र चामलका भरमा छाक टार्नुपरेको छ भने बच्चाका लागि दूध कहाँबाट ल्याउने, के ले ल्याउने केशव पिरोलोमा हुनुहुन्छ । गोजीमा सुको पैसा छैन भएको सम्पत्ति घरसँगै. बग्यो” उहाँले आफ्नो पीडा सुनाउनुभयो ।

उमेर छञ्जेल अर्काको हलो जोतियो, बुढेसकालमा सरकारले निर्माण गरिदिएको घर पनि पहिराले खायो, बाँस र निगालोको कामवाट अलिअलि पैसा जोगाएको थिए, त्यो पनि घरसँगै गयो, केशवले पीडा सुनाउनुभयो । हालैको वर्षाले उहाँका परिवार पनि विचल्लीमा परेको थियो ।
वडा कार्यालयले दिन सक्ने सहयोग दिइरहेका छौँ थप सहयोगका लागि सम्बन्धित निकायलाई आग्रह गर्नाका साथै उनीहरूका लागि खाद्यन्न लत्ताकपडासहित घर निर्माणका लागिसमेत पहल गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताउनुभयो ।

सोमबार राति वर्षासँगै घरमाथिबाट गएको पहिरोले उहाँका परिवारको ज्यानमात्रै बच्यो तर अन्य सबै धनमाल पुरिदिएको थियो । हलियामुक्त भइसकेपछि नेपाल सरकारले पुनःस्थापना कार्यक्रममार्फत निर्माण गरिदिएको घरमा रु पाँच लाख ५० हजार खर्च भएको थियो । त्यो पनि पहिरोले लग्यो । घर बनाएको ठाउमा कुनै निसाना छैन, गोठमा भएको गाई गोरु खोलामा अझै मृतावस्थामा छन् ।

उहाँको घरभित्र रहेका पुशचौपाय र कुखुराका साथै खाद्यान्न र नगदसमेत पहिराले लगेको मुचुल्काका लागि उक्त स्थानमा पुगेका प्रहरीले बताए । घर भएको स्थानको कुनै नामनिसान छैन, गोठमा रहेका गाईगोरु नजिकैको खोलामा मृतावस्थामा छन् भएका सम्पत्तिको कुनैै अत्तोपत्तो नभएको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक शेरबहादुर बुढाऐरले बताउनुभयो । केशवको दुईतले तीन कोठाको घर, अन्नबाली र नगदसहित गरी करिब रु १४ लाख बराबरको धनमाल नोक्सान भएको उहाँले जानकारी दिनुभयो ।
पहिराले घर मात्रै लगेन, दसैँको मुखमा श्रीमती पशुपतिले बुझेको ज्येष्ठ नागरिक भत्तासमेत पहिरोमा गुमनाम भएको पीडित केशवले गुनासो थियो । सहयोगका लागि र नाति हुर्काउनका लागिसमेत अहिले उहाँका परिवारले अनुरोध गरिरहेको छ । आफूले दैवबाट पाएको पीडा अरु कसैलाई नपरोस् भन्दै पीडितले सरकारलगायत अन्य सङ्घसंस्थाबाट सहयोगको अपेक्षा गरिरहेका छन् ।

डडेल्धुरामा केशवझै अन्यको पनि उत्तै पीडा छ । अमरगढी–१ को बण्ड, गन्यापधुराको भेटा गाउँनै पहिरोको जोखिममा परेकोे छ, करिब ४० घर विस्थापित हुनसक्ने खतरा छ । पहिरामा परी दुई जनाको मृत्यु नै भएको र अन्य दर्जन बढी घाइते भएका छन् । अजयमेरु–१ मा मात्रै दुई घर केशव र राज भण्डारीको भत्किएका थिए ।
ग्रामीण सडक अवरुद्ध छन् । जिल्लाभरको क्षतिको यकिन विवरण आउन सकेको छैन । प्रहरी परिचालन गरिएका छन् चाँडै बाढीपहिरोबाट हुन गएको धनजनको क्षतिका साथै खाद्यान्न क्षतिको पनि विवरण सार्वजनिक गरिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
बिहीबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमसहित डडेल्धुराका बाढीपहिरोको अनुगमन गर्दै पीडितलाई चाँडै राहतको व्यवस्था गर्ने अश्वासन दिनुभएको थियो । पीडित भने राहतमा ढिलाइ हुँदा झन पीडित भएका छन्, अरुको भरमा बाच्नुपर्दा झनै समस्या भइरहेकाले चाँडो व्यवस्थापन गरिदिनुपर्ने मुक्तहलिया केशव भनाइ थियो । बस्ने घर छैन, खानका लागि गाँस छैन, लगाउने लुगा र ओड्ने ओछ्याउने समेत पहिराले खायो भन्दै उहाँ एकोहोरो भौतारिरहनुभएको छ । यसरी पीडित बनेका मानिसलाई प्रधानमन्त्री देउवाले भनेजस्तै चाँडै प्रबन्ध मिलाइदिनुपर्ने स्थानीयवासीको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस