पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ


दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जनाएको छ । यस अवधिमा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । दसैँपछि अहिले पनि पाथीभरामा भक्तजन आउने क्रम जारी रहेको समितिले जनाएको छ ।

पाथीभरा दर्शनका लागि दसैँ, तिहारको समयलाई मुख्य मौसम मानिन्छ । यही मौसममा देशविदेशबाट उल्लेख्यरूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गर्दछन् । गत वर्षको दसैँ, तिहारमा भने कोभिड–१९ का कारण पाथीभरा दर्शन बन्द गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमणको अवस्था न्यून रहेकाले मुख्य मौसमलाई लक्षित गरी गत असोज १ गतेदेखि पाथीभरा दर्शन खुला गरिएको थियो ।

यो पनि – शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको तयारी कक्षा

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै शुक्रबारबाट स्वास्थ्य सेवातर्फ अहेब÷अनमीको एकमहिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । ‘मानव संशाधनको विकास समृद्धिको निकासःसमृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन सुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“सरकारी सेवामा स्याङ्जा जिल्लाको छुट्टै पहिचान छ, त्यसलाई अझै पुष्टि गर्नुका साथै पहिचानलाई जोगाइराख्नका लागि पनि हामीले निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित अगाडि बढेका छौँ ।”

नगरपालिकाले लोकसेवा आयोगले हाल माग गरेको अहेब÷अनमी पदलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको हो । यसअघि गत वर्ष नगरपालिकाले निःशुल्करुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो । “पहिलो चरणमा नायब सुब्बा र खरिदारलाई लक्षित गरी निःशुल्करुपमा तयारी कक्षा सञ्चालन ग¥यौँ”, प्रमुख खाँणले भन्नुभयो, “त्यसको उपलब्धि राम्रो देखियो, तयारी कक्षा सञ्चालनको प्रभावकारिता राम्रो भएकाले यसपटक प्राविधिक धारतर्फको स्वास्थ्य सेवाको अहेब र अनमीका लागि तयारी कक्षा सञ्चालन सुरु गरेका हौँ ।”

नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुखा खाँणले जानकारी दिनुभयो । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगर उपप्रमुख कल्पना तिवारीले दाबी गर्नुभयो । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ ।

नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोकसेवा आयोगको तयारीका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकका लागि उपयोगी हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो । तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकमार्फत सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्ने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

लोकसेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ । यो अभियान नगरपालिकामै पहिलो भएको उहाँको दाबी छ । तयारी कक्षा सञ्चालनका लागि प्राप्त भएका आवेदनका आधारमा हाल ८० जना महिला पुरुष प्रशिक्षार्थी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस