गण्डकी प्रदेश शिक्षाको ‘हब’ : मुख्यमन्त्री पोखरेल


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित गण्डकी विश्वविद्यालय स्थापना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गण्डकी प्रदेशलाई शिक्षा, खेलकुदलगायत धेरै चिजको केन्द्र बनाउन सकिन्छ, विदेशी विद्यार्थीसमेत पढ्न आउने परिकल्पनाका साथ गण्डकी विश्वविद्यालय बनेको हो, गुणस्तरीय शिक्षाको विकासका लागि निजी तथा तथा सरकारी विद्यालय र सरकारकाबीचमा राम्रो बहस हुनु आवश्यक छ ।”वर्तमान संविधानमा आधारभूत शिक्षा सबैलाई अनिवार्य तथा माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेकाले सोको कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । देशको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकाले निजी क्षेत्रलाई निरुत्साहित गर्दा अर्थतन्त्र चल्नै नसक्ने अवस्था आउने भएकाले प्रोत्साहन जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले शैक्षिक संस्थाको सङ्ख्या वृद्धि भएको र शिक्षामा पहुँच बढे पनि गुणस्तरको विकास नभएको जनाउँदै व्यावहारिक र गरिखाने शिक्षाका बारेमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारको चासो हुनुपर्नेमा जोड दिनुभयो । निजी विद्यालय तथा शैक्षिक संस्था प्रतिस्पर्धा गर्न चाहने र प्रतिस्पर्धा गर्न नसक्नेलाई बजारले समेत अस्वीकार गर्ने भनाइ उहाँको थियो । हिसानका केन्द्रीय सल्लाहकार रमाकान्त बरालले निजी विद्यालय तथा क्याम्पसप्रति राज्यको सकारात्मक धारणा आवश्यक हुनुपर्ने बताउनुभयो । यसअघि जिल्ला र केन्द्रीय हिसान रहेकामा अधिवेशनले पहिलोपटक प्रादेशिक समिति गठन गर्ने केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।

यो पनि – जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छ : मन्त्री बडु

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।नेपाली कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो क्षति बेहोर्नु परेकाले जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । सरकारले अहिले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम ल्याउन नसके भविष्यमा मुलुकले ठूलो क्षति बेहोर्नसक्ने भएकाले यसलाई सरकारले महत्वका साथ लिनुपर्नेमा उहाँको जोड थियो ।

उहाँले सरकारले बाढी, पहिरो र डुबानका कारण मारमा परेका किसानलाई लक्षित गरेर तत्काल राहतसहितका प्याकेज अघि बढाइने बताउनुभयो । मन्त्री बडुले बाढी, पहिरो र डुबानका कारण सबैभन्दा मारमा किसान वर्ग परेकाले सरकारले तत्काल राहतको व्यवस्था गर्ने जानकारी दिनुभयो । उहाँले सरकारको आफ्नो स्रोतले नभ्याएमा वैदेशिक सहयोग जुटाएर भए पनि मारमा परेका किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकार लागिपर्ने बताउनुभयो । उहाँले आफू बाढी, पहिरो र डुबानका बेला सुदूरपश्चिम भ्रमणमा रहेको जनाउँदै आफ्नै आँखाले यहाँ भएको क्षति देखेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस