थप ५१३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि


देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख ८५ हजार ३४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९३ हजार ९८० छ । पछिल्लो समय थप ८१७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ८६ हजार ६८० पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

थप आठको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ६३ हजार ७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि – भारतमा कोभिड-१९का १६,३२६ नयाँ सङ्क्रमितहरू थपिए

भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन् ।
संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३,७०८ पुगेको छ। सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।  यसैगरी हालसम्म ३३,५३२,१२६ जना सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् ।

यो पनि – उत्तर चीनको रासायनिक भट्टी विष्फोट हुँदा ४ जनाको मृत्यु ३ घाइते

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११:०० बजे भएको थियो। अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।

फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ। दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस