नुवाकोटमा एकैदिन ५८ नयाँ सक्रमित थपिए


नुवाकोटमा आज कोरोना रोगको ५८ जना नयाँ सङ्क्रमित थप भएका छन् । योसहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ । जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पीसीआर प्रयोगशालामा गरिएको परीक्षण र शङ्कास्पद लक्षणसहित उपचारका लागि सोही अस्पतालमा पुगेका बिरामीबाट सङ्कलन गरिएको स्वाबको एन्टिजेन जाँचको नतिजामा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो चौबिस घण्टामा नयाँ सङ्क्रमित थप हुनेमा विदुर नगरपालिकामा ३६ जना, किस्पाङ गाउँपालिकामा सात जना, बेलकोटगढी नपामा चार जना, सूर्यगढी, ताँदी र म्यागङमा तीन÷तीन जना र तारकेश्वर गाउँपालिकामा एक जना रहेका छन् । नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घट्ने क्रममा रहेको र १२ मध्ये पाँच वटा पालिका सङ्क्रमणमुक्त भएको तथा सङ्क्रमित पहिचान १० प्रतिशतको हाराहारीमा रहेको थियो । आज एकैदिन धेरै सङ्ख्यामा कोरोनाको नयाँ सङ्क्रमित पहिचान भएको हो ।

प्रयोगशालामा ५९ जनाको जाँच गर्दा ५५ जना र बिरामी भएर अस्पतालमा उपचार गराउन गएका पाँच जनामा तीन जनासमेत गरेर ५८ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । धेरै सङ्ख्यामा कोरोनाको भाइरस देखिएसँगै दो¥याएर गरिएको जाँचमा समेत सोहीअनुसारको नतिजा आएसँगै रोगको सङ्क्रमण पुनःसमुदायमा व्यापकरुपमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

“नमूना परीक्षणअन्तर्गत ९५ प्रतिशतमा कोरोनाको भाइरस देखिएको छ । कार्यालयका सूचना अधिकारी खनालले भन्नुभयो, “चाडपर्वका समयमा गरिएको स्वास्थ्य सावधानीमा गरिएको लापर्वाहीले धेरै व्यक्तिमा भाइरस देखिएको हुनसक्छ ।”

कोरोना सक्रमित पुष्टि हुनेमा अधिकांश जिल्ला सदरमुकाम विदुरका बासिन्दा छन् । उनीहरूका स्वास्थ्यमा कोरोना रोगको लक्षणसहितको समस्या देखिएसँगै जाँच गराउने क्रममा भाइरस पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक जनाको अवस्था गम्भीर भएसँगै त्रिशूली अस्पतालमा भर्ना गरिएको छ भने बाँकी ७५ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस