कोरियामा नेपाली कविका कृतिलाई २५ लाख पुरस्कार


सउल, ७ कात्तिक (रासस) : दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको शहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’ प्राप्त भएको छ । कोरियाको प्रतिष्ठित साहित्य संस्था हेसान बाग्दुजिनद्वारा गत आज एक समारोहका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।

कोरियाका लोकप्रिय कवि स्व बाग्दुजिनको नाममा स्थापित उक्त संस्थाले प्रतिष्ठित बाग्दुजिन पुरुस्कार र आन्सङ पुरस्कार प्रदान गर्दै आएको थियो । संस्थाले यसपालिदेखि ‘एशिया भिजन पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो । पहिलो पटक प्रदान गरिएको यो पुरस्कार चिनिया कवि जनउन्जी र नेपाली कविका पुस्तकलाई संयुक्त रूपमा प्रदान गरिएको हो । पचास लाख कोरियन वन (नेपाली रुपैयाँ पाँच लाख बराबर) नगद राशिको उक्त पुरस्कार दुई कृतिलाई संयुक्त रुपमा प्रदान गरिएका कारण नेपाली कृतिले २५ लाख हात पारेको हो ।

कार्यक्रममा नेपाली पुस्तक ‘यो मेशिनको शहर हो’ को समीक्षा गर्दै एशिया फाउण्डेशनका अध्यक्ष जो नामछलले विदेशमा कामदारको रूपमा कार्यरत भए पनि नेपाली कविका कवितामा उच्च काव्यिक चेतना रहेको बताउनुभयो । कार्यक्रममा नेपाली पुस्तक टोलीको प्रतिनिधिको रूपमा अनुवादक तथा कवि मोहन कार्कीले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको रकमले कोरियामा रहेका नेपाली कथाकारको कथालाई अनुवाद गरी कोरियन भाषामा प्रकाशन गर्ने योजना रहेकोसमेत कार्कीले बताउनुभयो ।

कोरियामा रोजगारीलगायत विविध पेसामा आबद्ध नेपाली ३५ कविका ७० कविता समावेश भएको कविता सङ्ग्र्रह ‘यो मेसिनको शहर हो’ गत पुसमा प्रकाशन भएको थियो । कृतिमा कवि सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, जीवन खत्री, बोनम प्रताप, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायत कविता समाविष्ट छन् ।

कविताको पराजित पोमुले सम्पादन गरेको कृतिलाई कोरियन कवि इ गिजु(मुना) र मोहन कार्कीले अनुवाद गर्नुभएको हो । नेपाली भाषामा लेखिएका कवितालाई कोरियन भाषामा अनुवाद गरी कोरियाको प्रतिष्ठित प्रकाशन गृह ‘नाम्छाड’ ले गत पुसमा प्रकाशन गरेको थियो । कविता कृति ‘यो मेशिनको शहर हो’ नेपाली भाषामा पनि प्रकाशन गर्ने योजना रहेको प्रकाशकले बताएका छन् । यस कृतिलाई यसअघि पनि ‘रेड अर्वार्ड’ प्रदान गरिएको थियो । केही महिना अघि राजधानी सउलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा ‘रेड अवार्ड’ प्रदान गरिएको थियो ।

यो पनि – बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा

सोलुखुम्बु, ७ कात्तिक (रासस): जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बन्नुभएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ । मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता बन्नुभएका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो ।

सोलुदूधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आउनुभएको थियो । यही कात्तिक २ गते मङ्गलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उहाँ बेपत्ता बन्नुभएका थियो । उहाँको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ ।

एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौँबाट आइतबार लुक्ला आएका तीनजनासहित लुक्लामा रहेका एक गरी चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन् । उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिनुभयो । लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

अन्य तीनजनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन् । खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए) र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताउनुभयो ।

बेपत्ता बन्नुभएका अविवाहित शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ । उहाँका साथमा एकजना भाइ रहनुभएको छ । भाइको समेत गत वर्ष मात्रै मिर्गाैला प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बताएको छ । छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ । गाइडका साथमा जानुभएका शेर्पासँग हिमाल आरोहणसम्बन्धी आवश्यक जानकारी नहुँदा समस्या भएको अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस