रुसी राष्ट्रपति पुटिन र ब्रिटिश प्रधानमन्त्री प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता


९ कात्तिक (रासस÷सिन्ह्वा) ः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बृटिश प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उहाँहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ ।
उहाँहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको थियो ।

उहाँहरुका बीचमा खासगरी जलवायु परिवर्तनका बारेमा विशेष कुराकानी भएको बताइएको छ । उहाँहरुबीचमा जलवायु परिवर्तनका विषयमा हुन लागेको सयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा कुराकानी भएको थियो ।यसै हप्ता स्कटल्याण्डमा सयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुन लागेको छ । उक्त सम्मेलनको सफलताका लागि रुसी राष्ट्रपति पुटिनले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त सम्मेलनका मुद्दाका विषयमा उहाँहरुबीच फोनमा कुराकानी भएको बताइएको छ । साथै अफगानिस्तानको पछिल्लो अवस्थाका साथै युक्रेनको द्धन्द्धका विषयमा पनि उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

यो पनि – जापानकी राजकुमारी माकोले सर्वसाधारण युवकसँग बिवाह गरे

९ कात्तिक (रासस÷एएफपी) ः जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गर्नु भएको छ । विवादका बीच उहाँले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिनु भएको छ । त्यसअघि उहाँले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गर्नु भएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नु भएको थियो ।

जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उहाँले सर्वसाधारणसँग विहे गरेसँगै उहाँको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो । उहाँहरुको मगनी गत सन् २०१७ मा भएपनि बिवाहको मिति तय भएको थिएन ।

जापानका राजा नारुहितोकी ३० बर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गर्नु भएको हो । उहाँका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आउनु भएको हो । बिवाहपछि राजकुमारी माको पनि अमेरिका जानुहुने भएको छ । उहाँहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन् भने उहाँले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग्नु भएको छ ।

यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उहाँहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।

यो पनि – सुडानमा सैन्य ‘कू’ विरुद्धमा व्यापक प्रदर्शन, सातको मृत्यु, १४० घाइते

९ कात्तिक (रासस÷एएनआई) ः सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरुले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु १४० जना घाइते भएका छन् । नागरिक अगुवा र सैनिक प्रतिनिधिहरु सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनका लागि हजारौ नागरिक सडकमा उत्रिएका छन भने प्रदर्शनलाई निस्तेज पार्न सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा परिचालन गरिएका छन् । अन्तरिम सरकारलाई बर्खास्त गरेको घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री अब्दल्ला हम्डकसहित राजनीतिक दलका धेरै नेताहरुलाई सेनाले नियन्त्रणमा लिएको छ ।
सैनिक सरकारले सङ्कटकालको घोषणा गरेपछि राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शनका आयोजकहरूलाई पक्राउ गरेको छ ।

सैन्य कूको विश्वभरिबाट पनि विरोध भइरहेको छ । अमेरिकाले सैन्य कूप्रति आपत्ति जनाउदै सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर नदिने घोषणा पनि गरेको छ । तर कूको नेतृत्व गरेका सैन्य प्रमुख जनरल अब्देल फतह बुर्हानले भने दलहरूबीचको राजनीतिक झगडाका कारण सेनाले राजनीतिक जिम्मेवारी पनि लिनु परेको स्पष्ट पार्नु भएको छ ।

सुडानमा लामो समय शासन गरेका ओमार अल बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र राजनीतिक दलका नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ ।प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागीता देखिएको छ । प्रदर्शनकारी सवैले सैन्य शासन आफूहरुलाई अस्विकार्य रहेको बताउने गरेका छन् ।
उनीहरुले सैनिक मुख्यालय अगाडि नै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै सडकमा डायर बाल्ने, नारा जुलुश गर्नेलगायतका विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

विमान सेवा, सञ्चार सेवा, इन्टरनेट सेवालगायतमा भने सरकारले नै अवरोध गरेको छ ।प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरुले गोली प्रहार गरी घाइते भएकाहरुलाई राजधानी खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार गराइएको छ । सैन्य कूको विरुद्धमा चिकित्सकहरु समेत आन्दोलित भएकाले चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । त्यसैगरी केन्द्रीय बैङ्कका कर्मचारीसहित विभिन्न पेशा, व्यवसाय र रोजगारीमा रहेकाहरु पनि आन्दोलित भएका छन् ।

देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुले सेनाले सैन्य कू गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् । तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको छ ।

तत्कालिन सरकारले मूल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो ।
सर्वपक्षीय सहमतीमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस