डोटी,अछाम र बाजुरामा औषधि अभाव


डोटी, १० कात्तिक (रासस) : एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ ।

यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाले सडक अबरुद्ध भएपछि अस्पतालमा औषधि अभाव भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एक÷दुई दिनमै ढुवानी नभए औषधिको समस्या हुने देखिन्छ ।” जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पचास शय्याको सुजङ अस्पताल राजपुरमा पनि दुई दिनका लागि मात्रै औषधि रहेको उक्त अस्पतालका निर्देशक अर्जुन बलायरले जानकारी दिनुभयो । जिल्लामा अस्पताल मात्र नभई यहाँका गाउँपालिकाहरूमा पनि औषधि अभाव रहेको पाइएको छ ।

गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या उत्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकामा औषधि सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधि आयात गर्न सक्ने अवस्था पनि रहेन औषधिको अभाव भएको छ ।” स्वास्थ्यकर्मीका अनुसार यहाँका पहाडी जिल्लाहरुमा बाढीपहिरापछि पानीमा प्रदूषित भएपछि फैलन सक्ने रोगहरू नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्दै आएका औषधिको मुख्यरुपमा अभाव देखिएको छ ।

यो पनि – प्रहरी हत्या घटना : नौ जनालाई जन्म कैदको फैसला

सुदूरपश्चिम, १० कात्तिक (रासस) : धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले भन्नुभयो, “हत्या घटनामा संलग्न हुनेलाई अदालतले जन्मकैद हुने ठहर गरेको छ ।” उक्त घटनाका अभियुक्त पूर्पक्षका लागि कारागारमा रहेका थिए । गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेला परेको थियो ।

सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मटरको कारोबार गर्ने धनगढीका व्यापारी राजीव गुप्तालाई भने अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस