भेट्रान्स फुटबल–आर्मीको जीत


काठमाडौँ, १० कात्तिक (रासस) : राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले लगातार दोस्रो जीत दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गदै दोस्रो जीत दर्ता गराएको हो । पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । यस जीतसँगै आर्मीले २ खेलमा ६ अङ्क जोड्यो ।

आर्मीको जीतमा राजु तामाङले दुई गोल गरे भने विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे । यता फर्पिङका लागि भने निरज श्रेष्ठले एक गोल फर्काएका थिए । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी २१ टोलीलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टोली दोस्रो चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् ।

यो पनि – ऋण काढेर भएपनि वडावासीलाई खानेपानी

तनहुँ, १० कात्तिक रासस : व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ ।

मादी नदी लिफ्टिङ खानेपानी आयोजनाका लागि बुझाउनुपर्ने रकम अपुग भएपछि समितिले नगर विकास कोषसँग ऋण लिन लागेको हो । करिब रु २६ करोडको लगानीमा सम्पन्न हुने उक्त आयोजनाका लागि समितिले बुझाउनुपर्ने रकमका लागि ऋण माग गरिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालभरिको खानेपानी संस्थामध्ये दश वटा खानेपानी आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी संस्था पनि छनोट भएको छ । नेपाल सरकारको ७० प्रतिशत र ३० प्रतिशत खानेपानी संस्थाले बेहनुपर्ने हुँदा रकम जुटाउन नसक्दा ऋण लिएर आयोजना सम्पन्न गर्न लागेको समितिले जनाएको छ । संस्थाले जम्मा गर्नुपर्ने ३० प्रतिशतमा ५ प्रतिशत नगद जम्मा गरिसकेको र २५ प्रतिशत अपुग हुने देखिएपछि ऋण लिएर भए पनि वडावासीलाई पानी वितरण गर्ने लक्ष्य राखेको छ ।

ऋणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गरी प्रक्रियामा राखिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “ऋण लिएपछि किस्ताबन्दी रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “उक्त आयोजना निर्माण सम्पन्न पश्चात व्यास नगरपालिका–१ का पूरै र वडा नं १२ का केही बासिन्दालाई दीर्घकालीन रुपमा खानेपानीको समस्याको अन्त्य हुन्छ ।”

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुवात भई हालसम्म २५०० बढी निजी धारा जडान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस