नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको एन्फासँग सम्झौता


नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गर्नुभएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गर्नुभएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राससलाई जानकारी दिनुभयो ।

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पु¥याउनुभएको अल्मुताइरी त्यतैबाट कुवेत फर्कनुभएको थियो । भारतविरुद्ध फाइनल खेल्नुअघि उहाँले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताउनुभएको थियो ।

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हँुदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ । उहाँले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।

यो पनि – महिला फुटबल : गैँडाकोट विजयी

गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटाँैडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो । गैँडाकोटको जीतमा ऋतु तामाङले खेलको ५६औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल साबित भयो ।

जीतसँगै समूह ‘एफ’को गैँडाकोटले तीन अङ्क जोडेको छ भने नकआउट चरणमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १० समूहमा विभाजन गरेको छ ।प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस