तरुण दलको स्थापना दिवस पाँचतले मन्दिरमा दीप प्रज्वलन


नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा आज साँझ भक्तपुरको ऐतिहासिक सम्पदास्थल पाँचतले मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल भक्तपुर नगर कार्य समितिले दीप प्रज्वलन गरेको हो ।  कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले तरुण एकता आवश्यक रहेको बताउनुभयो । पार्टीको बलियो खम्बाका रुपमा उभिएको युवा नेता नै भावी नेतृत्वमा पुग्ने हो भन्दै उहाँले पार्टीको ऐतिहासिक महाधिवेशन भव्यरुपमा सम्पन्न गर्न तरुणको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । कांग्रेस लोकतान्त्रिक पार्टी भएको चर्चा गर्दै लोकतन्त्रलाई बचाउन तरुण सधैँ अग्रस्थानमा उभिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसको अवसरमा आज साँझ भक्तपुरको ऐतिहासिक सम्पदास्थल पाँचतले मन्दिर परिसरमा तरुण दल भक्तपुरले आयोजना गरेको दीप प्रज्वलन । तस्वीर ः रमेश गिरी, रासस

त्यसअवसरमा नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थले नेपाली राजनीतिक परिवर्तनमा तरुणको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । तरुण एकता बलियो बन्नसके पार्टी बलियो हुन्छ भन्दै उहाँले पार्टीको महाधिवेशनलाई सफल बनाउन तरुण लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेता राजु थापा र रामसुन्दर खाइतुले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै तरुण दल कांग्रेसलाई बलियो बनाउन गाउँगाउँबाट लाग्ने बताउनुभयो । कांग्रेसका नेता रवीन्द्र प्रधानले राति ७ बजे सम्पन्न भएको दीप प्रज्वलनमा सहभागी नेताहरूले कांग्रेस महाधिवेशनलाई एकताका साथ सम्पन्न गर्दै एकताको सन्देश प्रवाह गर्न प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

यो पनि – कांग्रेस महाधिवेशनको मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कात्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ । यसैगरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्र्ने तय गरिएको उहाँले बताउनुभयो । कांग्रेसले यसअघि महाधिवेशन मिति मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो । पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको भने हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भई केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस