काठमाडौँ विश्वविद्यालय र युलेन्स एजुकेसन फाउन्डेसनबीच समझदारी


काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसन र युलेन्स एजुकेसन फाउन्डेसनबिच २१औँ शताब्दीको सिकाइ र विद्यालयका लागि आवश्यक दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकास गर्नसम्बन्धी समझदारी भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा र युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुको उपस्थितिमा ललितपुरको हात्तीवनस्थित एजुकेसन परिसरमा आज आयोजित समारोहमा उक्त सझदारीपत्रमा हस्ताक्षर भएको हो । एजुकेसनका डीन प्राडा बालचन्द्र लुइँटेल र फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा अरनिकोकुमार पाँडेले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको फाण्डेसनका प्रमुख प्राज्ञिक अधिकृत मेदिन लामिछानेले जानकारी दिनुभयो ।

शिक्षाका क्षेत्रमा प्रगतिशील काम गरिरहेका दुई अग्रणी संस्थाबीचको साझेदारीमा सञ्चालन हुन लागेको शिक्षक, शिक्षा, शैक्षिक नेतृत्व तालिम तथा शिक्षा क्षेत्रमा गरिने अध्ययन अनुसन्धानले दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकास गर्ने लक्ष्य राखिएको छ । फाउन्डेसनले स्थापना गरेको युलेन्स सेन्टर फर एजुकेटर डिभलपमेन्टअन्तर्गत यो कार्य सम्पत्र गरिने उहाँले बताउनुभयो ।

नयाँ पुस्ताका शिक्षकहरूलाई तालिम दिने लक्ष्य राखेको यस साझेदारी कार्यक्रमले देशको नवीन शिक्षण सिकाइका आवश्यकता पूरा गर्न र शिक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । दुवै संस्थाबीचको सहकार्यले शिक्षक, विद्यालय र अन्य सरोकारवालाका लागि प्रशस्त अवसरहरू सिर्जना गर्ने आशा गरिएको छ ।

साझेदारी चुस्त, दुरुस्त र प्रभावकारीरूपमा सञ्चालन गर्न काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीनको अध्यक्षता र युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृतको सहअध्यक्षता रहने गरी पाँच सदस्यीय एक सञ्चालन समितिसमेत गठन गरिएको छ । दुवै संस्थाले आगामी दिनमा शिक्षक र शैक्षिक नेतृत्वका लागि छोटो अवधिका प्रशिक्षण कार्यक्रम सुरु गर्ने योजना बनाएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस