मुख्यन्यायाधिवक्ता खनालको राजिनामा स्वीकृत


कर्णाली प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार एवं मुख्यन्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज नेपालको संविधान, २०७२ को धारा १६० को उपधारा ४ (क) बमोजिम खनालको राजिनामा स्वीकृत गर्नुभएको हो ।

दैलेख निवासी अधिवक्ता खनाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ चैत ६ गते मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । नेपालको संविधान २०७२ मा प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त मुख्यन्यायाधिवक्ताले मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजिनामा दिनुपर्ने उल्लेख छ । खनालले कात्तिक १ गतेदेखि लागू हुने गरी पदबाट दिएको राजिनामा आज स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि – प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँ अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री त्यहाँ रहँदा उहाँसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । उहाँले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नुहुनेछ । प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछ । उहाँले वल्र्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्नुहुनेछ । सोही दिन साँझ उहाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

उहाँ नोभेम्बर २ को बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारेखमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले नेपाली बगैँचामा बिरुवा पनि रोप्नुहनेछ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ । उहाँ बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्नुहुनेछ । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस