मिस युनिभर्सको उपाधि सुजितालाई


काठमाडौँ, १४ कात्तिक (रासस) : ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल बन्नुभएको छ । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नुभएको हो । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहि¥याउनुभएको थियो ।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गनुएहुनेछ । कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहनुभएको थियो ।

गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गर्नुभएको थियो । कार्यक्रममा डा केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित हुनुभयो ।

यो पनि : ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

कास्की, १४ कात्तिक (रासस) : नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित हुनुभयो । उहाँहरुले रु १० लाख र रु ५० लाखको बिमा पुस्कार पाउनुभयो ।

सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै रु तीन लाख पुरस्कार पाउनुभयो भने राजेन्द्र पाठक र मीना नेपालको जोडीले सान्त्वना स्थान हासिल गरेर रु दुई लाख पुरस्कार पाउनुभयो । प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहनुभएका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा हुनुहुन्थ्यो । नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिबार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो ।

देशभरबाट डिजिटल अडिशनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिशन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस