प्राज्ञ सरुभक्तलाई मुक्तक सागर सम्मान


गण्डकी, १४ कात्तिक (रासस) : साहित्यकार एवं प्राज्ञ सरुभक्तलाई मुक्तक सागरबाट सम्मान गरिएको छ । मुक्तक विधाको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरूपमा उहाँलाई सो सम्मान अर्पण गरेको हो ।

पोखरामा आयोजित एक समारोहका बीच मुक्तक सागरका तर्पmबाट पत्रिकाका सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गर्नुभएको हो । कार्यक्रममा सम्मानित व्यक्तित्व तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले मुक्तकको उन्नयन र विकासमा मुक्तक सागर साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको चर्चा गर्दै मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको बताउनुभयो ।

पोखरेली कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्राज्ञ सरस्वती श्रेष्ठ सरु र मञ्चका सल्लाहकार तथा साहित्यकार दीपक समिपले सरुभक्तले मुक्तक र साहित्यिक क्षेत्रमा पु¥याउँदै आउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बताउनुभयो । मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शङ्कर ज्ञवालीलगायतले मुक्तक वाचन गर्नुभएको थियो ।

यो पनि – ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

कास्की, १४ कात्तिक (रासस) : नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित हुनुभयो । उहाँहरुले रु १० लाख र रु ५० लाखको बिमा पुस्कार पाउनुभयो ।

सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै रु तीन लाख पुरस्कार पाउनुभयो भने राजेन्द्र पाठक र मीना नेपालको जोडीले सान्त्वना स्थान हासिल गरेर रु दुई लाख पुरस्कार पाउनुभयो । प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहनुभएका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा हुनुहुन्थ्यो । नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिबार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो ।

देशभरबाट डिजिटल अडिशनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिशन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजकले जनाएको छ ।

यो पनि – नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली, १४ कात्तिक (रासस) : कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

लागुऔषधसहित तीन पक्राउ

धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।

शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताउनुभयो । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस