गाउँगाउँमा सुरक्षा गस्ती


चार्ड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ । तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गर्नुभएको छ । कुनै पनि नागरिकलाई सुरक्षा आवश्यक परेमा गस्तीका साथै गाउँ ठाउँमा रहेका प्रहरीचौकीबाट सहयोग लिन स्थानीयवासीका साथै आम पर्यटकलाई आग्रह गरिएको छ ।

रसुवावासीको सुरक्षार्थ १३ वटाभन्दा बढी प्रहरीचौकी रहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले आवश्यक शान्ति सुरक्षा प्रदान गर्न नेपाल प्रहरी २४ सै घण्टा तयार रहेको जानकारी दिनुभयो । राजमार्गअन्तर्गत बेत्रावती, कालिकास्थान, ग्राङ, धुञ्चे, स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी, हाकुबेँसी र मैलुङ क्षेत्रमा प्रहरीचौकी रहेका छन् ।

यसैगरी ग्रामीण क्षेत्रका लागि डाँडागाउँ, पारच्याङ, लाङटाङ, थुमन, थाम्बुचेतसमेत स्थानबाट सेवा प्रदान भइरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । गाउँ क्षेत्रका प्रायः स्थानमा सडक सञ्जाल जोडिएको र प्रहरीलाई सवारी साधनको समेत व्यवस्था भएकाले कुनै पनि नागरिकले सुरक्षा माग्दासाथ तुरुन्तै प्रहरी पुग्ने वातावरण रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यस्तै चाडपर्वको मौका छोपी वन जङ्गलमा हुनसक्ने अवैध क्रियाकलाप रोक्न लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकामा थप सुरक्षा गस्तीको व्यवस्था गरेको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश गौडाले जानकारी दिनुभयो । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लाअन्तर्गत हिमाली क्षेत्रको एक हजार ७१० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना विष्णुदल गण तैनाथ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस