मण्डली स्पोर्ट्सको उपाधि कालीगण्डकीलाई


रामपुर (पाल्पा), २७ कात्तिक (रासस) : मण्डली स्पोर्ट्सको उपाधि कालीगण्डकी गाउँपालिका स्याङ्जाले हात पारेको छ । अन्तरपालिकास्तरीय पुरुष भलिबल खेलमा विजेता कालीगण्डकीले नगद रु ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक खेलमा निस्दी गाउँपालिका पाल्पाले उपविजेतामा चित्त बुझायो । खेलमा कालीगण्डकी गाउँपालिकाले निस्दी गाउँपालिकालाई २१–२५,२५–२३,२५–१९ र २५–११ को अन्तरले हात पारेको हो ।

त्यसैगरी चापाकोट नगरपालिका स्याङ्जाले रम्भा गाउँपालिका पाल्पालाई हराउँदै तेस्रो स्थान भएको छ भने रम्भा गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेको छ । पुरस्कृत समूह द्वितीय हुनेले रु ५० हजार, तृतीय हुनेले रु २५ हजार र सान्त्वना समूहले रु १० हजार नगद र कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मण्डली स्पोर्ट्स क्लब पूर्वखोला–१, सिलुवा पाल्पाको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा खेल भएको हो ।

कालीगण्डकीका हरि पाण्डे उत्कृष्ट खेलाडी, निस्दीका विजय परियार उत्कृष्ट स्पाइकर र निस्दीकै हिमाल सुनारीले उत्कृष्ट ब्लकरको उपाधि हात पार्नुभएको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले बताउनुभयो । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको समूहले सहभागिता जनाएको प्रतियोगितामा १२ पालिकाको सहभागिता रहेको थियो ।

यो पनि – गुह्येश्वरी गौरीघाटमा सात मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी भक्तजनले छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा वाग्मती सफाइ महाअभियानले सफाइ गरेको छ । छठ मनाएपछि सफा भइनसकेको उक्त क्षेत्रमा महाअभियानको ४४४औँ हप्ताका अवसरमा आज सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । सो क्षेत्रबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ ।

सफाइमा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । तिलगङ्गा महिला समूह, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासीलगायतको पनि सफाइ अभियानमा संस्थागत सहभागिता थियो ।

सुन्दरीजलमा डाँडा सम्याउँदा नदी प्रदूषित

यसैगरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा वाग्मती नदीको किनारसँग जोडिएको डाँडाको जमिन सम्याउने क्रममा नदीमा माटो हालिएकामा महाअभियानले आपत्ति जनाएको छ । माटो व्यवस्थापन गरी नदी फोहर नगर्न आज सरोकार भएका निकाय र समूह सहमत भएको अभियानकर्मी शाहीले बताउनुभयो ।

आजै गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको दुवै भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथलगायत क्षेत्रमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि महाअभियान जारी छ । महाअभियानअन्तर्गत प्रत्येक महिनाको शनिबार बिहान दुई घण्टा ‘देशका लागि दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ भइरहेको छ ।

चाडपर्व, जाडो, गर्मीलगायत प्रतिकूल अवस्थामा पनि महाअभियान रोकिएको छैन । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर नै उपत्यकामा यसका सहायक नदी सफाइ सुरु भएको छ । हाल उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य शहर, नदी, सांस्कृतिक सम्पदामा पनि सफाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस