यू–१९ छनोटः २४ खेलाडी बन्द प्रशिक्षणमा


वाइवाइ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २४ जनाको नामावली निकालेर प्रादेशिक क्रिकेट सङ्घलाई बुझाएको हो । छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकोमा कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि हात पारेको थियो ।

बन्द प्रक्षिक्षणका लागि बोलाइएका खेलाडीमा राहुल चन्द, अनुराग सिंह, मिलन बोहरा, आकाश चन्द, हेमन्त धामी, आशिष भट्ट, अर्जुन सिंह साउँद, राहुल भण्डारी, कैलाश ऐर, अनिल थापा र सञ्जय बोहरा रहेका छन् । यस्तै खडकबहादुर बोहरा, भूपेन्द्र चन्द, नरेन भट्ट, शेर मल्ल, नारायण जोशी, नरेन साउँद, अर्जुन साउँद, वसन्त कार्की, सङ्गीत बुढाथोकी, दीपक टमटा, वीरेन्द्र बम, वीरेन्द्र नाथ र गजेन्द्र बोहरालाई पनि बन्द प्रशिक्षण बोलाइएको छ ।

बन्द प्रशिक्षण शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भएको प्रदेश प्रशिक्षक खेमराज भट्टले बताउनुभयो । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ७ गतेदेखि काठमाडौँमा उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

यो पनि –  पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताउनुभयो । उहाँले दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा अक्सिजनको अभाव सिर्जना नहुनेसमेत बताउनुभयो । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालसमेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । यो प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रियासमेत सुरु भएको छ । सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सुरु गर्न लागिएको छ । कम्प्रेसर मसिनसहितका उपकरण जडान भए पनि त्यसको सञ्चालनको लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मरसहितका विद्युतीय उपकरण आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्न थालिएको छ । एशोसिएशनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय आठवटा लायन्स क्लबको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ ।

त्यसका लागि झण्डै रु १२ लाखभन्दा बढी लागत लाग्ने अनुमान छ । १५ शय्या क्षमताको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्न बनेका भवनको काम करिब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनबाट सुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ ।

झण्डै रु ७५ लाख लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबले रु ३५ लाख लगानी गरेका छन् । अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ । जसका कारण प्लान्टबाट शय्यमा लगिएका पाइपलाइनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस