ह्वात्तै घट्यो सुनको मूल्य


काठमाडौँ, ५ मङ्सिर रासस : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

यो पनि – ‘सहकारीको संरचनाले ग्रामीण उद्योगको विकास गर्ने आधार तय भएको छ’

पाल्पा, ५ मङ्सिर (रासस) : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताउनुभएको छ । उहाँले १२ जिल्लामध्ये छ जिल्ला अन्नभण्डारका रूपमा रहेका र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताउनुभएको हो ।

बगनासकाली गाउँपालि–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उहाँले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार तय भएको बताउनुभयो । उहाँले सहकारीमार्फत ग्रामीण क्षेत्रमा साना उद्योगको स्थापना गर्न सकिने र ग्रामीण क्षेत्रको आर्थिक चलायमान हुने उल्लेख गर्नुभयो ।

सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा सामाजिक एकता कायम गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग गरेको मुख्यमन्त्री केसीको भनाइ थियो । विदेश तथा सहरी क्षेत्रमा रहेका युवा जन्मभूमि फर्केर सहकारीका माध्यमबाट स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्ने र त्यसका लागि सरकार लगानी गर्न तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले प्रदेशभित्रका युवालाई रोजगारी तथा स्वरोजगार सिर्जना गर्न पूँजीको अभाव हुनेलाई दुई प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न प्रदेश विकास बैंक स्थापना गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभयो । उहाँले त्यसका लागि रु ५० करोड बजेटको व्यवस्था गरिएकोसमेत बताउनुभयो । उहाँले प्रदेश बंैक स्थापनाले यस क्षेत्रमा साना तथा ठूला उद्योग विस्तार हुने बताउनुभयो ।

कार्यक्रम लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सहकारीका माध्यमबाट गरिबी तथा बेरोजगारको समस्या समाधान गरी ग्रामीण क्षेत्र उत्पादनमुखी क्षेत्रका रूपमा बदलिएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले देशको आर्थिक क्षेत्रलाई गतिशीत बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारीले आर्थिक कारोबारमात्र होइन, नागरिकका आधारभूत आवश्यकता पूरा गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले सहकारीमा एक हजार ११० शेयर सदस्य रहेको र सदस्यले कृषि तथा पशुपालनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस