लामखुट्टे नियन्त्रणमा विषादीको प्रभावकारिताबारे अध्ययन


कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन थालेका हुन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले अध्ययनका क्रममा लामखुट्टे नियन्त्रणमा लिएर यहाँस्थित स्वास्थ्य कार्यालयमा ल्यावमा प्रभावकरिता अध्ययन गरिने बताउनुभयो । “हामी हरेक वर्ष दुई पटक लामखुट्टे मार्ने विषादी र हरेक तीन वर्षमा किटनाशक झुल वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो– “त्यसको प्रयोगले लामखुट्टे मर्छ की मर्दैन भनेर अध्ययन गर्न यो अभियान थालिएको हो ।” उहाँले बेलाबखतमा विभिन्न अध्ययन हुने गरेको भएपनि सो अध्ययन भने यहाँ करिब पाँच वर्षपछि हुन लागेको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयमा स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालामा प्रभावकारी परिक्षण गरिनेछ । गत वर्ष मात्रै प्रदेश सरकारको लगानीमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो । उहाँले भन्नुभयो–“यो पटक अध्ययनको नेतृत्व सिनियर इन्टोमोलोजीष्ट शम्भूनाथ झाले गर्नुभएको छ ।” उक्त अध्ययन दश दिनसम्म सञ्चालन हुनेछ । उहाँले नमूनाका रुपमा भीमदत्त–९ र १० मा अध्ययन सुरु गरिएको जानकारी दिनुभयो ।

फाइजर खोप डडेल्धुरा र कैलालीमा लगाइँदै

सुदूरपश्चिम प्रदेशमा पनि १२ बर्षदेखि १८ बर्षसम्मका दिर्घरोगी बालबालिका तथा किशोर किशोरीहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन थालिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले उक्त लक्षित उमेर समुहलाई खोप लगाउन सुदूरपश्चिममा कैलाली र डडेल्धुरामा खोप केन्द्र तोकिएको बताउनुभयो । “अरु जिल्लाबाट पनि त्यहाँ गएर खोप लगाउन सकिने व्यवस्था रहेको छ”, उहाँले भन्नुभयो–“यहाँ बालबालिकालाई लक्षित गरी पठाएको खोप पहिलो चरणमा दीर्घरोगीलाई प्राथमिकतामा राखिएको छ ।” स्वास्थ्य सेवा विभागले डडेल्धुरा अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई उक्त खोप हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस