चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान


नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो । उक्त चलचित्रलाई सेन्सर बोर्डको चलचित्र जाँच समितिले सर्टिफिकेट प्रदान गरेको हो । आज सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि चलचित्रप्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएका हुन् । सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिले हेर्न पाउनेछन् ।

द पाल्म गुप्र प्रालिको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको र हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको छ । लक्ष्मण सुनारको कथा, देवजङ्ग थापाको छायाङ्कन तथा निर्देशनमा बनेको चलचित्रमा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको चलचित्रमा अभिनय छ ।

ब्राह्मण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिब चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता लामाले बताउनुभयो । चलचित्र ‘टुल्की’लाई नेपालमा भन्दा पहिले विभिन्न मुलुकमा प्रदर्शन गरिने र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने निर्माण समितिले जनाएको छ ।

यो पनि – हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्नुहुँदै उहाँले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताउनुभयो । “अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो”, मन्त्री शर्माले भन्नुभयो, “एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुप¥यो ।” उहाँले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताउनुभयो ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पूँजी निर्माण हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताउनुभयो । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उहाँको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उहाँले बताउनुभयो । “विद्यालयको पूँजी भनेको सामुदायिक हुन्छ”, उहाँले भन्नुभयो, “त्यस्तै किसिमको अरू सामुदायिक पूँजी निर्माण गर्ने समूह÷समुदाय बनाउनुपर्छ ।”

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउनुहुँदै भन्नुभयो, “अब ठूलो÷मेगा विद्यालय बनाउनुपर्छ र त्यही शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ ।” उहाँले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रीकृत गर्नुपर्ने उहाँको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताउनुभयो । प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताउनुभयो । “शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौँ”, उहाँले भन्नुभयो, “त्यो ठूलो गल्ती थियो । मैले त्यतिबेला नै यो गल्ती हुँदैछ भनेको थिएँ ।” प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा सङ्गठनलाई केन्द्रीकरण गरेको बताउनुहुँदै उहाँले त्यो त्याग्नासाथ पार्टीमा विभाजन भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस