सुनको मूल्य घट्यो,यस्तो छ आजको मूल्य


सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

यो पनि – बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि गत कात्तिक २५ मा रु २० अर्बको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

प्रणालीमा देखिएको तरलता अभावले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको देखिन्छ । केन्द्रीय बैंकको पछिल्लो विवरणानुसार औषत कर्जा निक्षेप अनुपात ९० दशमलव ३१ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले गरेको बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्थाअनुरुप यसको व्यवस्थापनमा बैंकहरूलाई कठिन परेको छ । सार्वजनिक विवरणानुसार हालको अवस्थामा बैंकले कर्जा दिनसमेत नसक्ने अवस्था देखिएको छ ।

हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर चार दशमलव ९६ प्रतिशत पुगेको छ । त्यस्तै चालु आवमा बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले रु १७ खर्ब ५९ अर्ब ९२ करोड ८५ लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस