प्रहरीले बढायो सवारी चालकमाथि निगरानी


मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको छ । पासाङल्हामु राजमार्गमा केहीले मदिरा सेवन गरी सवारीसाधन चलाएको भन्ने जनताको गुनासो बढेकाले पूर्वसावधानी अपनाउन नेपाल प्रहरीले निगरानी बढाएको हो । कसैले पनि मदिरा सेवन गरेर सवारीसाधन चलाउन मिल्दैन तर रसुवाका मार्गमा यात्रु बोकेर हिँडेका केही चालकले बीच बाटोमै सवारीसाधन रोकेर मदिरा सेवन गरेको भन्ने सूचना प्राप्त भएकाले प्रहरीद्वारा सुक्ष्म निगरानी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

मदिरा सेवन गर्ने चालक एवं चालक हो भनी जानाजान मदिरा बिक्री गर्ने विक्रेतासमेत दुवैमा निगरानी सुरू गरिएको बताइएको छ । कुनै पनि चालकले सवारीसाधन चलाउँदा मदिरा सेवन नगर्न र सवारी साधन गुडाइरहेको अवस्थामा मोबाइल फोन नउठाउन पनि प्रहरीले आग्रह गर्दै आएको छ । मोबाइल फोन उठाउन वा गर्नैपरेमा सवारीसाधनलाई रोकेर मात्र कुराकानी गर्न चालकलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

एकातर्फ सवारी साधनको चाप, अर्कोतर्फ बढी मात्रामा घुम्तीमोहडाजस्ता स्थानमा समेत चलकले सवारीसाधन गुडाइरहेकै अवस्थामा एक हातले मोबाइल उठाउने र अर्को हातले सवारीसाधनको स्टेरिङ घुमाउने गरेकाले प्रहरीको निगरानी समय सान्दर्भिक भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

चालकले मदिरा सेवन गरेको पाइएमा छिटोभन्दा छिटो जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५१२७५५५५ मा खबर दिई सहयोग गरिदिन यात्रुसमक्ष आग्रह गरिएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । आम नागरिकको जीउज्यानको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले कुनै पनि क्षेत्रमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक नियम पूर्णपालना गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।

यो पनि –  कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । कार्यालयका तत्कालीन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको छ । यहाँ कार्यालय प्रमुख नहुँदा विभिन्न योजना अलपत्र छन् ।

प्रदेश सरकारअन्तर्गतको यस कार्यालयले पाल्पासँगै अर्घाखाँचीमा खानेपानीको योजना सञ्चालन गर्दै आएकामा गत साउनदेखि नै सम्पन्न योजनाको रकम भुक्तानी हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि कार्यालयमा प्रमुख नहुँदा आम नागरिकले गुनासो गरिरहेका छन् । लामो समयदेखि कार्यालयमा कार्यालय प्रमुख नहँुदा दैनिक कार्य सम्पादनदेखि कार्यालयमा कार्यरत कर्मचारीको तलवबाट वञ्चित हुनुपरेको कार्यालयका कर्मचारी बताउँछन् ।

रामपुर नगरपालिका–२ स्थित खयरबोट खानेपानी आयोजना पनि प्रभावित बन्न पुगेको छ । योजना सिफारिस भए पनि कार्यालय प्रमुखको समस्याले अहिलेसम्म काम अगाडि बढ्न नसकेको रामपुुर–२ का वडा सदस्य बालकुमारी थापाले बताउनुभयो । “आयोजना सिफारिस भए पनि निर्माणको कुनै प्रक्रिया अगाडि बढेको छैन, स्थानीयले काम किन सुरु भएन भनेर गुनासो गरिरहनुहुन्छ, खानेपानी कार्यालयमा फोन गरेर बुझ्दा काम हुन्छ भन्नुहुन्छ”, उहाँले भन्नुभयो ।

गत वर्ष नै नाप जाँच गरिएको यस खानेपानी आयोजनाबाट करिब ४०० घरधुरीका उपभोक्ता लाभान्वित हुनेछन् । लुम्बिनी प्रदेश सरकारका तीन मन्त्री पाल्पाबाट छन् तर कार्यालय प्रमुखको व्यवस्थापनमा भने पहल नभएको स्थानीयले गुनासो गरेका छन् । मन्त्रालयको स्रोतका अनुसार रुपन्देहीको खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख अनुपकुमार चौधरी र गुल्मीमा कार्यरत डिभिजन प्रमुख अनुपकुमार उपाध्यायमध्ये एक जनालाई पाल्पा सरुवा गर्ने भनिए पनि अहिलेसम्म कार्यालय प्रमुखको टुङ्गो लाग्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस