सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभावः स्थानीयवासी मर्कामा


सिमकोट, ९ मङ्सिर (रासस) : हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ । उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीयवासी औषधोपचारबाट बञ्चित भएका छन् । “गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् । तर स्वास्थ्य संस्थामा औषधि छैन”, स्थानीयवासी मेगराज रोकायाले भन्नुभयो, “यसप्रति सरोकारवाला निकायको समेत ध्यान गएको छैन ।” उहाँका अनुसार आफू बिरामी भएको करिब दुई हप्ता भइसक्यो, स्वास्थ्य संस्थामा जाँदा सामान्य औषधि नपाएर रित्तो हात घर फर्कन बाध्य भएको छु ।

यतिखेर राहदेवको सामुदायिक स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको दुख्ने, बान्ता लाग्ने, वाकवाकी हुनेलगायतका बिरामीको उपचारका लागि औषधि नभएपछि उक्त क्षेत्रका स्थानीयवासी करिब दुई घण्टा लगाएर सर्केगाड स्वास्थ्यचौकीमा धाउन बाध्य भएको रोकायाको भनाइ छ । दुई अहेव, एक अनमी र एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्था हाल सहयोगीको भरमा सञ्चालन हुँदै आएको स्थानीयवासी बताउँछन् । संस्थामा स्वास्थ्यकर्मी र औषधि अभाव भए पनि गाउँपालिकाले वास्ता गरेको छैन ।

यो पनि – नेप्से परिसूचक आज पनि ओरालो यात्रामा

काठमाडौँ, ९ मङ्सिर (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ अङ्कले घटेर दुई हजार ७३१.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अङ्कले बढेर ५१५.६४ मा पुगेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा नै सीमित भएको छ । कूल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर रु तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार ३३१ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३४ अर्ब बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य १९.५१ अङ्कले बढेको छ । व्यापार ४३.१६, विकास बैंक ७०.८७, जलविद्युत् २७.४८, वित्त २.०३, निर्जीवन बीमा १५६.८४, उत्पादन २९.१, लघुवित्त ५१.४१, जीवन बीमा २३.२६, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४९ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ५७ लाख १३ हजार ७३६ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक रु १६ करोड २१ लाख ८४ हजार ७१०, सिभिल बैंक रु १४ करोड ७९ लाख १८ हजार ८३६, साना किसान बैंक रु १० करोड चार लाख ९७ हजार ७१० र नबिल बैंक रु १० करोड एक लाख ६७ हजार ३७६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

त्यस्तै मानुषी लघुवित्त ६.९३, साना किसान विकास बैंक ५.०८, कर्णाली डेभलपमेन्ट बैंक ४.९५, कुमारी बैंकको ऋणपत्र ४.४१ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस