हनुमानढोकास्थित पृथ्वीनारायण शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा


विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि हनुमानढोका दरबार क्षेत्रमा शयन कक्ष निर्माण भएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनःनिर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । कक्षको बाहिरी भागको पुनःनिर्माणका सबै काम सकेरभित्र साजसजावटका काममात्र बाँकी छ ।

अड्डाले नै ठेक्का गरी रु दुई करोड ५८ लाख ४५ हजार ६२३ को लागतमा कक्ष पुनःनिर्माण भइरहेको इञ्जिनीयर रोशन डङ्गोलले जानकारी दिनुभयो । विसं २०७७ जेठ ९ गते पुनःनिर्माण सुरु भएकामा २०७९ साल जेठ ८ गतेसम्म पुनःनिर्माणको अवधि बाँकी रहेको उहाँले सुनाउनुभयो । अवधिअगावै काम सम्पन्न हुने जनाइएको छ । पचली भैरव एण्ड मनकामना निर्माण सेवाले यो सम्पदा पुनःनिर्माण काम गरिरहेको छ ।

कक्षसँगै पृथ्वीनारायण शाहले नुवाकोटबाट कान्तिपुर विजयका लागि हिँड्नुअघि ल्याएको कँडेल भगवतीको मन्दिर पनि रहेको छ । कान्तिपुर विजय भएमा भगवतीलाई यहीँ स्थापना गर्ने वाचासहित पृथ्वीनारायण शाहले भगवतीलाई ल्याउनुभएको इतिहासविद्को भनाइ रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका सङ्ग्रहालय अधिकृत जयनारायण कार्कीले जानकारी दिनुभयो ।

भगवतीलाई अहिले पनि चैत महिनामा जात्राका लागि नुवाकोट लैजाने परम्परा छ । पहिले पैदल नै भगवतीको प्रतिमूर्ति जात्राका लागि नुवाकोट लैजाने गरिएकामा अहिले सवारीमार्फत लगिन्छ । नुवाकोटबाट ल्याएर स्थापना गरिएकाले वर्षमा एकपटक चैतमा जात्राका लागि देवीलाई मूल थलोमा लैजाने गरिएको हो ।

यो पनि – प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी गराउनुभयो ।

उहाँहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वाेच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।सो अवसरमा प्रधानमन्त्री देउवाले बारका पदाधिकारीले राख्नुभएको विषयलाई गम्भीरतापूर्वक लिँदै सोबारेमा आफू अवगत रहेको अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले उक्त विषयमा सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक÷दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने बताउनुभएको थियो । भेटमा बारका केन्द्रीय पदाधिकारी, सर्वाेच्च बार एशोसिएशनका पदाधिकारी, बारका पूर्वअध्यक्षहरु, पूर्वमहासचिवहरु, पूर्वमहान्याधिवक्ता, पूर्वसभामुखलगातय उपस्थिति हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस