एकता कायम राख्नसक्नु पनि महत्वपूर्ण उपलब्धि हो : सहमहामन्त्री महत


नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा कम्युनिष्ट पार्टी र अन्य पार्टी विभाजित भइरहेको समयमा कांग्रेसलाई एकतावद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको उद्घाटनमा आज उहाँले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाउनुभएको बताउनुभयो ।

पार्टीको भातृ सङ्गठन र विभागको गठनमा विलम्ब नगरौँ, सहमति नजुटे बहुमतबाट जाऔँ भनेर सल्लाह आउँदा सभापति देउवाले भन्नुभएको जवाफ स्मरण गर्दै उहाँले भन्नुभयो, “सभापतिले कम्युनिष्टको गतिविधि मैले हेरिरहेको छु । चुनावमा बहुमत ल्याए । अहङ्कार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक ढिक्का राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो । कुनै निर्णय आफूखुशी लाद्नु भएन ।”

सहमहामन्त्री डा महतले पार्टीको १४औं महाधिवेशन अत्यन्त उत्साहजनकरूपमा भइरहेको बताउँदै पार्टीको क्रियाशील सदस्यता सङ्ख्या पनि दोब्बर भएको पनि उल्लेख गर्नुभयो । उहाँले यसपटक पार्टीको विधान पनि नेपालको संविधानसँग तादात्म्य हुने गरी बनाइएकाले पार्टीका तल्लो तहदेखि नै अझ बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको बताउनुभयो ।

उहाँले महाधिवेशनका क्रममा नेता कार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिको रुपमा ब्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्तामात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले अत्यन्त उत्सकुतापूर्वक सकारात्मक रुपमा हेरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ऊर्जा र उत्साह कम्तिमा आउने आमनिर्वाचनसम्म रहनुपर्दछ ।”

उहाँले महाधिवेशनको क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई स्वभाविकरुपमा लिनुपर्ने बताउनुभयो । सहमहामन्त्री डा महतले कांग्रेसले क्रान्ति गर्ने, आन्दोलन गर्ने, संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र संविधानको परिधिभित्र रहेर देशको भौतिक पूर्वाधार तथा आर्थिक–सामाजिक विकासमा ऐतिहासिक काम गरे पनि त्यसलाई प्रचार गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस