कांग्रेस खोटाङमा विष्णुकुमार सभापतिमा विजयी


नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी हुनुभएको छ । जिल्ला सभापतिका अर्का उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दैै विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । विष्णुकुमारले ६६९ मत प्राप्त गर्दा पूर्व राज्यमन्त्री सर्वधनले ६१० मत मात्र प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य पदाधिकारीमा पनि नव निर्वाचित जिल्ला सभापति विष्णुकुमारको समूहनै विजयी भएका छन् ।

उपसभापतिमा ईवन राईले ७५३ मत र तीर्थराज भट्टरार्ई ७४२ मत ल्याएर विजयी हुनुभएको छ । उपसभापतिका उम्मेदवार बन्नुभएका मनोज तिम्सिनाले ५४३ र राजन सैंजूले ३८४ मत ल्याउनुभएको छ ।सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी हुनुभएको छ । सचिवका उम्मेदवार रामकुमार राईले ५११ र रोजन राईले ५५३ मत पाएका छन् । सहसचिवमा साजन राईले ६२४ र सालिकराम बञ्जराले ५९३ मत ल्याएर विजयी हुनुभएको छ । सो पदमा ध्यानबहादुर राईले ५६४ र राजकुमार राईले ५७७ मत ल्याउनुभएको छ ।

सातौँ जिल्ला अधिवेशनका लागि एक हजार ३७३ प्रतिनिधि चुनिएकामा एक हजार ३२२ मत खसेको थियो । विष्णुकुमार कांग्रेस खोटाङको चौँथोँ कार्यकालका लागि जिल्ला सभापतिमा पुनः निर्वाचित हुनुभएको हो । जिल्ला कार्यसमितिका लागि सदस्यहरु र महाधिवेशन प्रतिनिधिको मत भने गणना हुन बाँकी रहेको जनाइएको छ । क्षेत्र नं. १ ‘क’ को सभापतिमा राजेन्द्र राईको प्यानल (समूह) र क्षेत्र नं. २ ‘ख’को सभापतिमा दिनेशकुमार घिमिरे विजयी हुनुभएको जनाइएको छ । अर्का उम्मेदवार भक्तजङ्ग राईलाई ९२ मतले पछि पार्दै ३७२ मत ल्याएर राजेन्द्र राई प्यानलसहित विजयी हुनुभएको हो ।

सभापतिका अर्का उम्मेदवार चण्डीकुमार राईलाई ५६ मतले पछि पार्दै घिमिरे क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको जनाइएको छ । घिमिरेले ३३१ मत ल्याउँदा राईले २७५ मत मात्र ल्याउनुभएको थियो ।

यो पनि – कांग्रेस महाधिवेशन : बैतडीबाट २६ प्रतिनिधि निर्वाचित

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीबाट २६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नवनिर्वाचित सभापति चतुरबहादुर चन्दको समूहबाट १६ तथा उहाँका निकटम प्रतिद्वन्द्वी शिवराज भट्टको समूहबाट १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार खुलातर्फ दिनेशप्रसाद भट्ट (६१३), लोकराज अवस्थी (५५३), दिनेशबहादुर चन्द (५४७), नरेन्द्रसिंह थापा (५२१), केशवबहादुर चन्द (६२२), हरिमोहन भण्डारी (५८१), उत्तरबहादुर ऐर (५६३), कर्णसिंह साउँद (५४९), दीपकबहादुर बम (५४४) र कृष्णसिंह नायक (५२३) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै खुला महिलातर्फ पुनम पाल बम (५४८), जानकी भट्ट (५१४), तुलसी ठगुन्ना (५०१) र मीना चन्द (४९२), खस आर्य पुरुषतर्फ दीपेन्द्र बम (६०६), सुरेन्द्रसिंह ऐर (५०६) र नरेन्द्रप्रसाद भट्ट (५००), तेजबहादुर चन्द (५४३), कपील केसी (५२५), खस आर्य महिलातर्फ कान्ता चन्द शाही (६०१), सरस्वती कोली (५६२), कौशिला चन्द (६२५) र लक्ष्मी शाह चन्द (५४७) मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसैगरी अपाङ्गतातर्फ ईश्वरीदत्त भट्ट (६०८) र दलिततर्फ सुरत पार्की (६२७) निर्वाचित भएका छन् भने आदिवासी जनजातितर्फ किरणकुमार राई महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन हुनुभएको छ । यसअघि जिल्ला पदाधिकारीमा एक उपसभापतिबाहेक सबै पदमा चन्द समूह विजयी भएको थियो । बैतडीमा एक हजार ४०२ प्रतिनिधिमध्ये एक हजार ३४८ जना मतदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस