सुदूरपश्चिम : शल्यक्रिया गर्ने व्यवस्थासहितको पशु अस्पताल सञ्चालनमा


सुदूरपश्चिम प्रदेशमा पहिलो पटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरमा शल्यक्रिया गर्ने व्यवस्थासहितको पशु अस्पताल सञ्चालनमा आएको छ । साना पशुहरुको उपचारमा सघाउ पुर्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा ल्याइएको अस्पतालमा पशुको उपचारसँगै शल्यक्रिया गर्ने सुविधासमेत उपलब्ध रहेको केन्द्रका पशु विकास अधिकृत शंकरदत्त जोशीले बताउनुभयो । “पशुको कुनै कारणले मृत्यु भएमा पोष्टमार्टम गर्नुपर्ने भएमा त्यसको व्यवस्थासमेत अस्पतालबाटै उपलब्ध हुन्छ” उहाँले भन्नुभयो, “त्यसका लागि अलग्गै कक्षको व्यवस्था गरिएको छ ।

अस्पताल सञ्चालनका लागि मन्त्रालयको रु ३४ लाख ११ हजार ७७६ को लागतमा नयाँ भवनसमेत निर्माण गरिएको छ । नयाँ भवनमा अस्पताल सञ्चालनका लागि छ वटा कोठा रहेका छन् । अस्पतालमा अत्यावश्यक सुविधासहितको शल्यक्रिया गर्ने कक्षसँगै अल्ट्रासाउण्ड मेसिन, एक्सरे मेसिन, कम्प्युटर, ल्याबलगायत रहेका छन् ।

अस्पतालमा दक्ष जनशक्तिसहित उच्चस्तरीय उपचार उपलब्ध हुने उहाँको भनाइ छ । अस्पतालमा एक दरबन्दीका र एक जना करारका गरी दुई जना पशु चिकित्सक कार्यरत रहनुभएको छ । अल्ट्रासाउण्ड, एक्सरे मेसिन सञ्चालन गर्नका लागि केही दिनभित्रै प्राविधिकको व्यवस्था गरी अस्पताललाई पूर्णक्षमताका साथ सञ्चालन गरिने बताइएको छ । अस्पताल सञ्चालन आएको दुई दिनमै एउटा कुकुरको बन्ध्याकरण र मलद्वार नभएको पाठीको शल्यक्रिया गरिएको छ ।

“गाई, भैँसीबाहेक अन्य साना सबै घरपालुवा जनावरको अस्पतालमा सहजरूपमा उपचार हुन्छ” केन्द्रका कार्यालय प्रमुख पानसिंह ठगुन्नाले भन्नुभयो, “पहिला शल्यक्रियासहितको उपचारको व्यवस्था नहुँदा पशुपालक किसानले निकै सास्ती खेप्नु पर्दथ्यो । अस्पताल सञ्चालनमा आएपछि पशुसम्बन्धी सबै रोगको निदान अस्पतालबाटै हुन्छ ।”

औषधि, परामर्श र शल्यक्रियासहितको सेवा अस्पतालबाट पाइने उहाँले बताउनुभयो । अस्पतालबाट पशुपालक किसानलाई सहजरूपमा सेवा दिनका लागि अस्पताललाई व्यवस्थित पारिएको उहाँको भनाइ छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा मदनसिंह धामीले महेन्द्रनगरमा शल्यक्रियासहितको पशु अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिँदै केही दिनभित्रै कैलालीको धनगढीमा समेत पशु अस्पताल सञ्चालनमा ल्याउन लागेको बताउनुभयो । क्रमशः प्रदेशका नौ वटै जिल्लामा सुविधासहितको पशु अस्पताल स्थापना गर्दै लैजाने लक्ष्य मन्त्रालयले लिएको उहाँले बताउनुभयो ।

“शल्यक्रियासहितका पशु अस्पतालमा आवश्यक औषधि, उपकरण, औजार, सुविधा सम्पन्न भवन र दक्ष जनशक्तिको व्यवस्था समेत गरिन्छ” उहाँले भन्नुभयो, “व्यावसायिक पशु पक्षी व्यवसायमा लागेका किसानलाई गुणस्तरीय सेवा उपलव्ध गराउने लक्ष्य रहेको छ ।”

प्रतिक्रिया दिनुहोस