रूसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना श्रमिकको निसास्सिएर मृत्यु, तीन दिन शोक मनाइने


रूसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो । घटनामा ४९ श्रमिक घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ । करिब ३०० श्रमिकले काम गरिरहेको खानीमा आगलागी भएपछि धेरै श्रमिक भागेर ज्यान बचाउन सफल भएका बताइएको छ । खानीबाट करिब ५० जनालाई जीवितै उद्धार गरिएको छ भने उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रुसमा पछिल्लो एक दशकमा भएको खानी दूर्घटनामा यो नै ठूलो मानवीय क्षति हो । मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुनसक्ने भन्दैे उद्धार कार्य रोकिएको छ । पीडितका आफन्तहरू उद्धार कार्यलाई सशक्त नपारिएको भन्दै प्रशासनप्रति आक्रोशित बनेका छन् ।खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटनास्थल रूसी राजधानी मस्कोबाट तीन हजार ५०० किलोमिटर टाढा केमेरोभो क्षेत्रमा पर्छ ।

यो पनि – इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी

द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले शुक्रबार दिएको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ । इथियोपियामा खाद्य सङ्कट उत्पन्न हुने बारेमा अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण गराउनु पर्ने राष्ट्रसंघीय अधिकारीहरूको भनाइ छ ।

अफ्रिकी देशहरूमध्ये दोस्रो धेरै जनसङ्ख्या भएको द्वन्द्वग्रस्त मुलुक इथियोपियाका लागि अहिलेदेखि नै खाद्य व्यवस्थापनको तयारी नगरिए ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी समेत उनीहरुले दिएका छन् । इथियोपियामा सरकारी पक्ष र विद्रोही टिपीएलएफ समूहका बीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस