उपलब्धिको रक्षा गरी संस्थागत विकास गर्नुपर्छ ः मन्त्री श्रेष्ठ


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भएका उपलब्धिको रक्षा गरी संस्थागत विकास गर्र्नुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र काठमाडौँको तारकेश्वर नगर सम्मेलनको आज उद्घाटन गर्नुहँदै उहाँले जसको नीति उसको नेतृत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्न सबैको दायित्व रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिनुभयो ।

मुक्त हलीया, कमैया, कमलरी र हरुवा चरुवाका समस्या समाधान गर्न कार्यदल बनाएर काम सुरु गरिएको भन्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैत्तृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशवण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयमा निर्देशन जारी गरी सकिएको जानकारी गराउनुभयो ।

भूमिहीन, दलित, सुकुम्वासी, महिला, जनजाति, पीछडिएको क्षेत्र वर्गको अधिकार स्थापित गर्ने एजेण्डा आफ्नो पार्टीको रहेको रहेको भन्दै उहाँले भूमिहिनलाई भूमि दिएर उत्पादनमा जोड्ने र सहकारीलाई त्यसको लक्ष्य, उद्येश्य र मर्म अनुसार सञ्चालन गरेर रोजगारी सिर्जना गर्नेतर्फ आफ्नो मन्त्रालय सक्रिय पूर्वक लागेको बताउनुभयो ।

यो पनि – शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शनिबार १३ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लाग्नुभएको हो ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ । माओवादीले पार्टीले विधानको ब्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितीमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिइएको छ । सबै पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि माओवादीले विशेष परिपत्र गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस