युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त


संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । त्यस्तै युएई भने अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टि २० ग्लोबल छनोटमा पुगेको छ ।

१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यस्तै कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए ।

बलिङतर्फ युएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए । त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । युएईकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रनको योगदान दिइन भने थ्रीथा सतिसले ४७ रन जोडिन । काभिसा इगोडागेले २२ रन जोडिन् ।

नेपालका कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र सङ्गीता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएई ५ खेलमा १० अङ्कका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जीत र २ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रह्यो ।

यो पनि – जर्मनी नागरिकको सहयोगमा अस्पताल निर्माण हुने

दोलखाको विगु गाउँपालिका–५ चिलखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ ।

हेल्थ नेपाल नामक संस्थामार्फत जर्मनी नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुट्ने बताइएको छ । अस्पताल चत्रलेश्वरी सामुदायिक स्वस्थ्य केन्द्र मातहत सञ्चालन हुने केन्द्रका अध्यक्ष प्रवीण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवनमा विभिन्न सुविधासम्पन्न मेसिन औजारहरु हुनाका साथै २१ कोठाको भवन हुनेछ । यो भवनको डिजाइन जर्मनका इञ्जिनीयर टोलीले नै गर्ने उहाँले बताउनुभयो । भवन निर्माणका लागि रु तीन करोड ८७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

हाल जर्मनमा बस्दै आउनुभएका छिरिङ शेर्पा र उस्की श्रीमती जर्मनी नागरिक चिकित्सक सोफिया तथा चिकित्सक क्लाउसको अग्रसरतामा उक्त भवन निर्माण गरिने केन्द्रका अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार अस्पतालका लागि आवश्यक पर्ने करिब साढे ६ रोपनी जग्गा उक्त संस्थाको नाममा ल्याइने छ । यसका लागि दुई रोपनी इको हिमाल र आधा रापनी जेनी खड्कले दान दिएको उहाँले बताउनुभयो ।

बाँकी जग्गा २९ जना दाताबाट सङ्कलन गरिएको रकमबाट स्थानीय व्यक्तिहरुसँग खरिद गरिएको अध्यक्ष खड्काको भनाइ छ । अस्पताल निर्माण भएपछि जिल्लाका उत्तरी क्षेत्रका विगु गाउँपालिकाको वडा नं ५, ६, ७, ८ का १० हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने गाउँ पालिकाको स्वास्थ्य संयोजक ईश्वर खड्काले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जिल्लाको निकै विकट क्षेत्रमा यस प्रकारको अस्पताल निर्माण हुनु भनेको स्थानीय जनताका लागि निकै ठूलो र खुसीको विषय भएको बताउनुभयो ।

“अस्पतालको निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगमा हातेमालो गर्नु स्थानीय सरकारको गहन जिम्मेवारी र दायित्व हो”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा यस प्रकारको अस्पताल तथा स्वस्थ्य क्षेत्रको विकास हँुदै जाँदा मात्रै आफ्नो सरकार घरदैलोमा आएको स्थानीयवासीमा भान हुन्छ । ” सदरमुकाम चरिकोटबाट ४४ किलोमिटर उत्तरतर्फ सो अस्पताल निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस