नेप्से परिसूचक झिनो अङ्कले ओरालो


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्सेको यात्रा कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.६४ अङ्कले घटेर दुई हजार ६२८.३७ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले बढेर ४९५.६३ मा पुगेको छ ।

नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागे पनि कारोबार रकम रु तीन अर्बमा सीमित भएको छ । कूल २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर रु तीन अर्ब आठ करोड ९० लाख ४१ हजार ९९१ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९५ अर्ब छ करोड ७३ लाख १० हजारको बराबर पुगेको छ ।

नेप्सेका अनुसारका कारोबार भएका कूल १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.५६, व्यापार २२.६२, होटल तथा पर्यटन ४.१९, उत्पादन ५१.६९, लघुवित्त १०.९५, जीवन बीमा ६९.६४ र लगानी ०.४३ अङ्कले ओरालो लागे । यस्तै विकास बैंक ४०.८८, जलविद्युत् ११.४, वित्त ८.८९, निर्जीवन बीमा ९६.६, अन्य १४.११ र सामूहिक लगानी कोष ०.०१ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड दुई लाख ७६ हजार ५५२ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक रु १३ करोड ९९ लाख ११ हजार ९४४, हिमालयन डिस्टिलरी रु १० करोड २३ करोड ६४ लाख ९२२, नबिल बैंक रु आठ करोड छ लाख सात हजार ८१४ र नशेनल हाइड्रोपावर रु सात करोड ५९ लाख ५६ हजार ६४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार समालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, तेह्रथुम पावर कम्पनी ७.०८, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.४९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.१० प्रतिशतले कमाए । त्यस्तै इन्फिनिटी लघुवित्त ४.७७, लाइफ इन्स्योरेन्स कम्पनी २.८६, मितेरी डेभलपमेन्ट बैंक २.७६, बैंक अफ काठमाडौँ २ं७६ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस