दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’


सउल, १५ मङ्सिर (रासस) : दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ ।

केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ ।

यो पनि – नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

कर्णाली, १५ मङ्सिर (रासस) : कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गर्नुभएको थियो । विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ । मन्त्री विष्टले मङ्गलबार नै पदबहाली गर्नुभएको छ ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उहाँ नेकपा (माओवादी केन्द्र) प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस