घूससहित मालपोत कार्यालयका प्रमुख र अमिन पक्राउ


चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए । जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।

प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले रु १५ लाखको चेक घूस नभई आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।

यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताउनुभयो ।

यो पनि – कांग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । कांग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाउनुभएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन । पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रिय निर्वाचन समितिलाई राजीनामापत्र बुझाउनुभएको छ ।

कांग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पोख्रेलले राजिनामा दिएसँगै जिल्लाको अधिवेशनमा अन्योलता छाएको हो । राजीनामा गर्नुअघि निर्वाचन समितिले आज मनोनयन दर्ता र १९ गते मतदान गर्न केन्द्रिय निर्वाचन समितिलाई सिफारिस गरेको थियो ।कार्यतालिका अनुसार कामअघि बढ्नुपर्ने समयमा निर्वाचन अधिकृतको राजीनामाले अन्योल छाएको नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताउनुभयो । एक विज्ञप्ति जारी गर्दै उहाँले अचानक निर्वाचन अधिकृत पोख्रेलको राजीनामा आउनुले अचम्मित् र गम्भीर बनाएको बताउनुभयो

यो पनि – भक्तपुरको चारवटै पालिकामा मतदाता नामावली सङ्कलन गरिने

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मङ्सिर १७ गतेदेखि भक्तपुरको चारवटै पालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ । कार्यालयले आज यसबारेमा जानकारी दिँदै मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलोचरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिने भएको जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

जिल्लामा दुई चरणमा गरिने नामावली सङ्कलनका क्रममा दोस्रो चरणमा चाँगुनारायण नगरपालिकामा पुस ३ गतेदेखि १६ गतेसम्म नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली सङ्कलन गरिने भएकाले नगरपालिकामा टोली नखटाइने उहाँले बताउनुभयोे ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय रहेको पालिकाको हकमा भने टोली नखटाई नियमित रुपमा दुई कार्यालयबाटै नामावली सङ्कलन गरिने देशव्यापी व्यवस्था निर्वाचन आयोगले गरेकाले भक्तपुर नगरपालिकामा टोली नखटाइने तर दुईवटै कार्यालयबाट नामावली सङ्कलन भने गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यालयबाट नियमित रुपमा हुँदैआएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यलाई पनि जारी राख्दै पालिकामा स्थानीयस्तरमै टोली खटाएर नामावली सङ्कलन गरिने भएको हो । भक्तपुरमा बसोबास गर्ने तर मतदाता नामावली भने आफ्नै स्थायी ठेगाना भएको जिल्लामा राख्न चाहनेले पनि नामावली सङ्कलन गर्न सक्नेछन् । भक्तपुर बसोबास गर्ने अरु जिल्लाका बासिन्दाले पनि यहीँबाट सम्बन्धित जिल्लाका लागि नामावली सङ्कलन गर्न सक्नेछन् ।

कार्यालयले मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा तीनजना सम्बन्धित पालिकाले उपलब्ध गराएको कर्मचारी र एकजना निर्वाचन कार्यालयबाट गरी एउटा टोलीमा चारजना कर्मचारी खटिने व्यवस्था गरेको प्रमुख कुँवले जानकारी दिनुभयो । नामावली सङ्कलन गर्ने टोली भने सम्बन्धित नगरपालिकामा बस्ने भएकाले वडावासी नामावली सङ्कलन गर्न आफ्नो नगरपालिका कार्यालयमा जानु पर्नेछ । निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर जिसीले अन्य जिल्लाका बासिन्दाले नामावली सङ्कलन गर्नुपरेमा, मतदाता नामावली सार्नु परेमा वा मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा पनि यहीँबाट हुने जानकारी दिनुभयो ।

मतदाता नामावली सङ्कलनका क्रममा नागरिकताको सक्कल र फोटोकपी लिएर आउन र नागरिकतामा स्थायी ठेगाना अन्य जिल्लाको भएमा बसाइँसराइ प्रमाणपत्र वा विवाह भइआएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र अनिवार्य लिएर आउँन उहाँले आग्रह गर्नुभयो ।

कार्यालयका सूचना अधिकारी जिसीका अनुसार भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता रहेका छन् । जस अन्तर्गत भक्तपुर नगरपालिकामा ५६ हजार ५२६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६९२, मध्यपुरथिमि नगरपालिकामा ४० हजार ९४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २०८ मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस