बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने


१५ मङ्सिर (रासस÷सिन्ह्वा) ः बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिनुभएको छ ।उहाँले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बाउनुभएको हो । उहाँले भन्नुभएको छ– सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताउनुभयो ।उहाँले अब अहिलेकै अवस्थामा बेलायतमा अर्काे लकडाउन नगरिने पनि बताउनुभयो । उहाँले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था आउँदैन भन्नुभयो ।

यो पनि – भारतमा कोरोना सङ्क्रमतिको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुग्यो

१५ मङ्सिर (रासस÷सिन्ह्वा) ःभारतमा हिजो मङ्गलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मङ्गलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ । भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ ।

यो पनि – भारतबाट नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै

कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताउनुभयो । यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उहाँले बताउनुभयो । उहाँले नियमित रुपमा खोप आइरहेको बताउनुभयो । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखाप्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उहाँका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।

यो पनि – दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ । केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ ।

यो पनि – ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत मुलुकमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका छन् । सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ । सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।

बैठकले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० विलियन जापानी येन (अनुमानित १० अर्ब ३९ करोड) सहुलियपूर्ण ऋण लिने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर चन्द्रौटा प्रशाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई यही मङ्सिर १५ र १६ गते आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन स्वीकृत दिने तथा हेलेज (प्रशोधित घाँस) को व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरुप नेपाल र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकल स्वीकृत गरेको छ ।

नेपाल सरकार र युएनडिपीबीच सम्पन्न भएको ‘स्टाण्डर्ड बेसिक एसिसटेन्स एग्रिमेन्ट’ लाई लागू गर्न कूटनीतिक नोट परराष्ट्र मन्त्रालयबाट संयुक्त राष्ट्र सङ्घलाई पठाउन स्वीकृति प्रदान गरिएको छ । यही मङ्सिर २३ र २४ गते अमेरिकाका राष्ट्रपतिबाट भर्चुअलरुपमा आयोजना हुन लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरेको छ ।

बैठकले राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिवमा सुनपति–२, रामेछापका टङ्कलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८, चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (सातौँ संशोधन) नियमावली, २०७८, रेडियो सञ्चार (लाइसेन्स) (पाँचौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गरेको छ ।

बैठकले राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवको सरुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिव डा रमेश सिंहलाई अतिरिक्त समूहमा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा, सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस