कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन


युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रुपमा उतारिएको छ । साथै पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिक रुपमा सरल भाषामा प्रस्तुत गरिएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् । ”

कथाकार वसन्तको यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । कृति अहिले तेस्रो सस्करणमा प्रकाशित हुँदै छ ।‘मोम्चो’ शब्दको अर्थ चेपाङ भाषामा महिला वा नारी भन्ने हुन्छ । आख्यानकार वसन्तले भन्नुभयो “ कथाङ्ग्रह भित्रको शीर्ष मोम्चो कथाबाट कृतिको नामकरण गरेँ । विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका समस्यालाई कथामा केिन्द्रत गरेको छु ।”

यही मङ्सिर १९ गते अक्षर समूह चितवनको आयोजनामा कृतिको सार्वजानिक हुने उहाँले जानकारी दिनुभयो । सोही अवसरमा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गर्नुहुने समूहका अध्यक्ष प्रभाकर पण्डितले बताउनुभयो ।वरिष्ठ सञ्चारकर्मी वसन्त लामोसमयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत हुनुहुन्छ । उहाँ तीन दशक भन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।

यो पनि – स्वदेशमै मोबाइल उत्पादनमा जोड दिन आग्रह

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने भन्दै मोबाइल उत्पादनतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

मोबाइल वितरक सङ्घको दोस्रो महाधिवेशनको आज उद्घाटन गर्ने उहाँले सो कुरा बताउनु भएको हो । “मेरो मोबाइल कम्पनीले नेपालमा नै मोबाइल फोन उत्पादन गर्ने तयारी गरेको भन्ने मैले सुनेको छु, मेरो मोबाइल मात्र हैन, तपाईंहरुले पनि फोन उत्पादनमा जोड दिनुस्, सरकारले गर्न सक्ने सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

यस्तै, उहाँले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।

“गत साउनबाट एमडिएमएस लागू भएको मलाई जानकारी आएको थियो । तर पूर्णरुपमा लागू नभएको कुरा मैले हिजो मात्र सुने, एमडिएमएस लागू गर्न के समस्या भएको हो, तत्काल समाधान गरी लागू गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु”, उहाँले भन्नुयो, “अवैध रुपमा हुने कारोबार र राजस्व चुहावट रोक्न सरकार सधैँ तयार छ ।”

मोबाइल व्यवसायीहरुले अर्थ मन्त्रालयका कारण एमडिएमएस लागू गर्नमा ढिलाइ भएको कुराप्रति उहाँले खण्डनसमेत गर्नुभएको छ । “तपार्इंहरुले अर्थ मन्त्रालय र अर्थमन्त्रीका कारण एमडिएमएस लागू नभएको भन्नुभएको रैछ, सरकारलाई नोक्सान हुनेमा मैले कहिले सहयोग गर्दिन, तपार्इं ढुक्क हुनुस् एमडिएमएस पूर्ण रुपमा लागु हुन्छ”, उहाँले भन्नुभयो ।

मोबाइल फोन आयातकर्ता सङ्घका उपाध्यक्ष सञ्जय अग्रवालले लामो समयको तयारीपश्चात् पनि एमडिएमएस पूर्णरुपमा लागू नहुनु दुःखद भएको बताउनुभयो ।

“व्यवसायीले एमडिएमएस छिटो लागू गर्न पटकपटक आग्रह गर्दै आएका छौँ । गत साउनदेखि लागू गरियो भनियो तर अहिलेसम्म पूर्णरुपमा अवैध फोन नियन्त्रणमा आउन सकेको छैैन”, उहाँले भन्नुभयो, “हामी व्यवसाय गरी सरकारलाई कर बुझाउछौँ तर बिना कर बजारमा झन्डै आधा कारोबार अवैध हुँदा हामी हेर्नबाहेक केही गर्न सक्ने अवस्था भएन ।” उहाँले तत्काल एमडिएमएस लागू नभए व्यवसायी मिलेर सरकारलाई तालाचाबी बुझाउनुबाहेक अरू विकल्प नभएको बताउनुभयो ।

मोबाइल फोन व्यवसायीहरुले सरकारले नियमन नगर्दा ५० प्रतिशत फोन भारत लगायतका देशबाट नेपालमा अवैध रुपमा भित्रने गरेको बताउँदै आएका छन् । पछिल्लो समय भएका अधिकांश आपराधिक गतिविधिहरु अवैध फोनको सहयोेगमा भएको भन्दै व्यवसायीहरुले तत्काल अवैध फोन नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने भन्दै गत साउनदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको थियो । तर सो सिष्टम पूर्ण रुपमा लागू हुन सकेको छैन । प्राधिकरणले पुस १ गतेदेखि पूर्णरुपमा एमडिएमएस लागू गर्ने तयारी भएको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस