अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू : स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयो ।

“नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ”, उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।उहाँका अनुसार उक्त भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (द्य.१.१.५२९) साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउन पनि अनुरोध गरेको छ ।

यो पनि -जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

१५ मङ्सिर (रासस÷एएफपी) ः जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ ।

‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’ , यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताउनुभयो, विद्यमान बुकिङमा असर नपर्ने पनि उहाँले बताउनु भएको छ । जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । दश दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर–नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

भाइरसको डरले दर्जनौं भन्दा बढी देशहरुबाट आएका नागरिकहरू र विदेशी बासिन्दाहरुका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ ।जापानी अधिकारीहरूका अनुसार ओमिक्रोनको दोस्रो केस बुधबार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो । पहिलो केस, मंगलबार घोषणा गरियो, नामिबियाबाट आएका एक व्यक्ति समावेश थिए ।

यो पनि – जापानमा पनि भेटियो ओमिक्रोन

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन । गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् ।

अधिकारीका अनुसार ओमिक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो ।त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ । यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमिक्रोनका कारण अहिले फेरि विश्वभरी त्रास छाएको छ ।

कतिपय देशले उच्च सतर्कताका उपाय अपनाएका छन भने कतिपयले लापरवाही गरेकाले उनीरुका देशमा पनि भित्रिएको छ । जापानमा भने सतर्कता अपनाउदा अपनाउदै पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ ।टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो । जापानले नयाँ विदेशी पर्यटकलाई सीमा बन्द गरिएको जनाएको छ । यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउदै लगिने तयारी भएको थियो ।

“कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोररुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडारुपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भन्नुभयो ।उहाँले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने र प्रतिवन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ ।जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो ।अहिले पनि नयाँ भेरियन्ट ओमिक्रोन थप फैलिन नदिन र ठूलो मानवीय क्षति हुन नदिन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेको छ ।

सङ्गठनले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने चेतावनी पनि दिएको छ ।नयाँ भेरिएन्ट अफ्रिकी मुलुक बाहेक बेलायत, क्यानाडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डलगायत थुप्रै देशमा पनि देखिइसकेको डब्लुएचओले जनाएको छ ।नयाँ भेरिएन्ट पुष्टि भएपछि अमेरिका, बेलायत, युरोपेली सङ्घलगायत दर्जनौ देशले दक्षिण अफ्रिकी देशका नागरिकलाई आफ्नो देश आउन नदिने निर्णय गरिसकेका छन् ।

अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ भने अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र कामदारलाई डिसेम्बर १५ तारिखसम्मका लागि जान नपाइने गराइएको छ ।अमेरिका, बेलायतलगायतका देशमा ओमिक्रोनको सङ्क्रमण न्युनिकरण गर्न थोरै भएपनि सहयोग हुने विश्वासका साथ १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा दिन थालिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले त घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गर्नुभएको छ । तर लकडाउन लगाउने की नलगाउने भन्ने बारेमा भने स्पष्ट पार्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस