राज्य र निजी क्षेत्रबीच बलियो सहकार्य जरुरी


नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा ‘स्टार्टअप इकोसिस्टम’लाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताउनुभएको छ ।  आज अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झल्नुपरेकाले यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको बताउनुभएको छ । उहाँले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपलाई अनुकूल वातावरणसमेत रहेको बताउनुभयो । “विशेष गरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ÷नयाँ तरिकाका बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ”, उहाँले भन्नुभयो ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले यस्ता नवप्रवर्तक व्यवसायी र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उहाँले विशेष गरी महिला र युवालाई महासङ्घले सहयोग गरेको बताउनुभयो । “महासङ्घले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ”, उहाँले भन्नुभयो, “आइहबमा हामीले व्यवसायमा लाग्न चाहने युवालाई सूचनामा पहुँच दिई उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौँ ।”

त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको उहाँले बताउनुभयो । साथै उहाँले महासङ्घले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीलाई सहयोग तथा सहजीकरणका लागि सातवटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा ‘इन्क्युबेटर सेन्टर’ स्थापना गर्न गइरहेको समेत जानकारी गराउनुभयो ।

यो पनि – प्रेस सेन्टरको कर्णाली प्रदेश अध्यक्षमा शर्मा

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न कर्णाली प्रदेश समितिको दोस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा ४१ सदस्यीय सेन्टरको कर्णाली प्रदेश समिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गणेश सिर्पाली (रुकुमपश्चिम) खुला उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई (जुम्ला), प्रमुख सचिव धर्मराज जिसी (सुर्खेत), तिलकराज वली (सल्यान) विवशकुमार सेजुवाल (सुर्खेत), युद्धजित शर्मा (जाजरकोट), अर्जुनप्रसाद भट्टराई (कालीकोट), उपेन्द्र न्यौपाने (जुम्ला) चयन हुनुभएको अध्यक्ष मण्डलका अध्यक्ष ओपेन्द्र शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, महिला सचिवमा जाजरकोटका देवका लामिछाने र दलित सचिवमा हुम्लाका तिलसरा विक चयन हुनुभएको अध्यक्ष शर्माले बताउनुभयो । त्यस्तै, अशोककुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय अनुशासन, रमेश रावलको संयोजकत्वमा सल्लाहकार समिति र लेखा समिति गठन गरिएको छ ।

अधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले गर्दै मिसन र व्यावसायिकताको संयोजनबाट पत्रकारिता अघि बढेको बताउनुभयो । इञ्चार्ज बस्नेतले आजको राज्य संरचना र व्यवस्थाको आधार माओवादी नै भएको जिकिर गर्दै यसबाट प्राप्त भएका अधिकार र उपलब्धिको रक्षार्थ कलम चलाउन पत्रकार सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

उद्घाटनको क्रममा केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माले कम्युनिष्ट आन्दोलनको फोहोर सफा गर्ने, मौलिक अधिकारको रक्षा र समाजवादी क्रान्ति यात्रमा प्रेस सेन्टरको कलमले अगुवाइको भूमिका खेलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । प्रदेश सचिव रामदीप आचार्यले २१ शताब्दीको सूचना र प्रविधिको युगमा आफूलाई प्रेस सेन्टर नेपालले समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रदेश समितिका पदाधिकारी तथा सम्पूर्ण सदस्यलाई अध्यक्ष शर्माले पद तथा गोपनीयनताको शपथग्रहण गराउनुभएको थियो । अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य गोविन्द रोका (सचिन), लक्ष्मी पुन, कर्णाली प्रदेश इञ्चार्ज ध्रुवविक्रम बुढाथोकीलगायत केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस