नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज ४९.०४ अङ्कले गिरावट आई दुई हजार ५८४.६१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४६ अङ्कले ओरालो लागेर ४८७.२७ मा ओर्लेको छ ।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २३१ कम्पनीको नौ लाख ३२ हजार ७३१ कित्ता शेयर रु तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख ४० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १७.८८, व्यापार ३६.०५, होटल तथा पर्यटन ६२.३७, विकास बैंक १८९.०१, जलविद्युत् ६६.६५, वित्त ९३.३७, निर्जीवन बिमा २४५.८५, उत्पादन १५३.६७, अन्य ७५.६९, लघुवित्त ८४.४, जीवन बिमा २३०.८३, सामूहिक लगानी कोष ०.२ र लगानी १.४१ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा बिहीबार पनि महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ४३ लाख ३९ हजार ३०६ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु ११ करोड ७९ लाख १९ हजार २२, नेशनल हाइड्रोपावर रु १० करोड ९७ लाख ५० हजार ३४७, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ८६ लाख ४७ हजार ४४ र नबिल बैंक रु नौ करोड १५ लाख ८८ हजार १०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सामालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, महिला लघुवित्त ८.५०, नेपाल एसबिआई बैंक १.६९ र सबैको लघुवित्तका लगानीकर्ताले १.६० प्रतिशतले कमाए । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ६.८०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.७५, शिवश्री हाइड्रोपावर ५.५७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.४१ र गुडविल फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतले गुमाए ।

यो पनि – पछिल्लो २४ घण्टामा थप ३१५ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ४०३ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५४६ पुगेको छ । पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख २०१ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप छ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४५ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ७१५, संस्थागत आइसोलेशनमा ३३०, आइसीयूमा ११० र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदैछ ।

यो पनि – ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।
भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो । यी नाकाबाट आवागमन बढी हुने गरेको छ । “आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय लाग्दैन ।” उहाँले भन्नुभयो, “ओमिक्रोन फैलन नदिन सीमानाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ ।”

पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यहीअनुसार थप तयारी गरिने उहाँको भनाइ थियो । डा। अवस्थीले बताउनुभयो, “सङ्घीय स्वास्थ्य मन्त्रालयको कस्तो निर्देशन आउँछ त्यसपछि थप तयारी गर्छौँ।”

सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै सङ्क्रमण फैलिने खतरा बढेको बताइन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको सङ्क्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेशभरिका १८ वर्षमाथिका सबै नागरिकलाई मङ्सिरभित्र पूर्ण लगाइसक्छौँ, सोहीअनुसार सुदूरपश्चिमलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्छौं ।”

सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ ।

 

राजनीतिक दल तथा सरकारका उच्च ओहोदामा बसेका व्यक्तिबाटै स्वास्थ्य मापदण्डका नियमको उल्लङ्घन हुँदा सर्वसाधारण नागरिकलाई नियम पालना गराउन समस्या हुने गरेकाले सबैले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइएको छ । ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलाको जस्तो समस्या नहुने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८ हजार ३९ जनामा कोरोना पुष्टि हुँदा ६०९ जनाको मृत्यु भएको थियो । विश्वस्वास्थ्य सङ्गठनले कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस