राष्ट्रिय क्रिकेट ः सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश


सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३ दशमवल एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा नरेश भट्टले सर्वाधिक ३७ रनको योगदान दिए भने राहुल भण्डारी ३१ रनमा अविजित रहे । त्यस्तै वसन्त कार्कीले ११ रन जोड्दा खड्कबहादुर बोहराले पाँच रन जोडे ।

बलिङतर्फ वाग्मतीका गौतम केसी र प्रतिश जिसीले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको वाग्मती ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । वाग्मतीका विवेक रानामगरले सर्वाधिक ३२ रनको योगदान दिए भने कृश कार्कीले १७ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सूयांशु कोइराला आठ, उत्तम थापा छ, प्रशान्त महत एक, प्रतिश जिसी छ, गौतम केसी सात तथा विपुल खनाल तीन रनमा आउट भए ।

सुदूरपश्चिमका हेमन्त धाँमी एक्लैले पाँच विकेट लिए भने शेर मल्लले चार विकेट लिए । सुदूरपश्चिम लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगको शीर्ष स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको फाइनल खेल यही मङ्सिर १९ गते आइतबार हुनेछ ।
–––

यो पनि- बाँकेको नरैनापुरमा छात्रालाई निःशुल्क साइकल

बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ । नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका तीन माध्यमिक विद्यालय र एक आधारभूत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५०२ छात्रालाई साइकल वितरण गरेको हो । नरैनापुरमा रहेका सामुदायिक विद्यालयमध्ये तीन मावि, एक आधारभूत तथा ४२ प्राविमा कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बहाना बनाउँदै कक्षा छाड्ने गरेको गुनासो आएपछि गाउँपालिकाले छात्रालाई साइकल वितरण गर्न थालेको अध्यक्ष शाहको भनाइ छ ।

नरैनापुरको शैक्षिक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले छात्राको विद्यालयसम्म पहुँच बढाउन साइकल उपलब्ध गराइएको हो । लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउँपालिकाको सहकार्यमा रु ५० लाख बजेटमा साइकल वितरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस