शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको मृत्यु


तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन् ।

यो पनि – इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् ।

नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सञ्चालक तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका तिमिल्सेनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात वर्ष कैद र रु ७० हजार जरिवान सजाय हुने कानूनी व्यवस्था छ ।

यो पनि – नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग

बाँकेको राप्ती नदीमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीयवासीले माग गरेका छन् । उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । जल उपभोक्ता समितिको मूल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टेपरी हुँदै सिधनिया पुलसम्मको क्षेत्रमा स्काभेटर र जेसिबी प्रयोग गरेर अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयवासी चमेली बाकवलले जानकारीदिनुभयो ।

उहाँका अनुसार, राप्तीनदीमा अवैधरुपमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भई बगरमा परिणत हुने र वर्षात्मा बस्तीनै डुबानमा पर्नेे जोखिम बढ्दै गएको छ । राप्तीसोनारी–६ फत्तेपुरका स्थानीयवासीले आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले राप्ती नदीमा भइरहेको दोहन रोक्न माग गरेको स्थानीयवासी बनिलाल थारुले बताउनुभयो ।स्थानीयले नदीबाट हुने कटान, पटान र डुबान रोकथामका लागि तटबन्ध निर्माण गरिदिनुपर्ने माग पनि गरेका छन् ।

जिल्लामा नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का प्रक्रिया सुरु हुन नसक्दा अवैधरुपमा उत्खनन भई करोडौँ राजस्व गुमेको छ । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि बाँकेका नदीजन्य पदार्थको ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन । ठेक्का प्रक्रियामा नजाँदा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार भई राजस्व गुम्न पुगेको छ । सो अवसरमा प्रजिअ खत्रीले राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका लागि आफ्नोतर्फबाट पहल गर्ने जानकारीदिनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस