नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट


नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन । स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्नुभयो । यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

यो पनि – भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिन्भयो ।

भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ । उहाँले भन्नुभयो, “भारतबाट फर्किनेको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका छौं ।”झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको हो । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।

यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ । कोरोनाविरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ ।

पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतले जनाएको छ ।

यो पनि – नयाँ भेरियन्टबाट बच्न प्रदेश सरकार सक्रिय

भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै यहाँका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिले यहाँका अस्पताल व्यवस्थापनमा जोड दिनाका साथै भेन्टिलेटर, सघन उपचार कक्ष, अक्सिजनलगायतका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापनलाई पनि जोड दिइएको छ । स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भन्नुभयो, “यहाँका सीमानाका भारतबाट आउनेको स्वास्थ्य परीक्षण हुन्छ ।” उहाँले शङ्कास्पद देखिएका बिरामीलाई क्वारेन्टिनमा राख्ने तयारीसमेत भइरहेको जनाकारी दिनुभयो । त्यसैगरी सुदूरपश्चिमबाट कोभिड–१९ को प्रजाती पत्ता लगाउन यहाँबाट नमूना सङ्कलन गरेर काठमाडौँ पठाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस