लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न गठबन्धन : अध्यक्ष नेपाल


पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा सङ्घीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताउनुभएको छ । लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गर्न सत्तारूढ दलहरुबीच आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने उहाँले उल्लेख गर्नुभयो ।

पार्टी सम्बद्ध नेपाल खेलकुद महासङ्घ समाजवादीले आज दमकमा आयोजनामा गरेको प्रदेशस्तरीय खेलकुद तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो, “तीनै तहका निर्वाचनमा सत्तारूढ दलहरुको गठबन्धनले थप सफलता हासिल गर्छ, त्यसमा द्विविधा छैन् ।” नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आयोजित प्रदेशस्तरीय खेलकुद कार्यक्रममा अध्यक्ष नेपालले ओलीको अहम्ताका कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको आरोप लगाउनुभयो । आउँदो निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने उहाँले दाबी गर्नुभयो ।

पार्टीका प्रदेश नं १ कमिटीका अध्यक्ष एवम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्र र सङ्घीयताको कार्यान्वयन गर्दै देशलाई समृद्धितर्फ लैजान साझा चुनौती भएको उल्लेख गर्नुभयो । पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले एमाले कम्युनिष्टका नाममा पलायनतर्फ उन्मुख भएकाले त्यसको विकल्पमा देशभक्ति कम्युनिष्टहरुबीच एकता निर्माण गर्ने लक्ष्यका साथ एकीकृत समाजवादी जनताका बीचमा आएको स्पष्ट पार्नुभयो ।

भेलामा प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका खेलाडीसहित पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल खेलकुद महासङ्घ समाजवादीका केन्द्रीय अध्यक्ष केशवबहादुर विष्टलगायतले आफ्नो धारणा राखेका थिए ।

यो पनि – शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको आज आयोजित २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सबैको चासो भए मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने जिकिर गर्नुभयो ।

शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षक सबैको चासो र चिन्तन आवश्यक रहेकामा मुख्यमन्त्री पोखरेलले जोड दिनुभयो । उहाँले सबै विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिसकिएको भन्दै मुख्यमन्त्री पोखरेलले अब साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिइने बताउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले शिक्षालाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । वार्षिकोत्सवका अवसरमा क्याम्पसले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री पोखरेलले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस