बैंकिङ कारोबारका लागि कामपा र एनआइसी एसिया बैंकबीच सम्झौता


बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच आज सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ । वडा कार्यालयमा सम्भव नभए नजिकै भाडामा भए पनि काउन्टर खोल्नुपर्ने सम्झौतामा उल्लेख छ । कामपालाई सेवाग्राहीले बुझाउनुपर्ने सबै प्रकारका रकम सोझै बैंकमा जम्मा गरिने छ ।

सम्झौतापछि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कामपाको आर्थिक कारोबार पूर्ण रुपमा बैंकमार्फत हुन थालेपछि वित्तीय सुशासन कायम हुने बताउनुभयो । “अब सबै वडामा बैंकको शाखा हुनेछ,” उहाँले भन्नुभयो, “आर्थिक कारोबार अनलाइन प्रणालीबाट सञ्चालन हुनेछ ।” बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले कामपासँगको साझेदारी महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । बैंकले महानगरको केन्द्रीय कार्यालयमा एटिएमको सुविधा प्रदान गर्नेछ ।

यो पनि – कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी महाधिवेशनमा आदिवासी÷जनजाति क्लष्टरको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरअन्तर्गत आठजना सहमहामन्त्री रहने व्यवस्था छ । नेता आङ्देम्बेले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, साङ्गठनिकरूपमा गतिशील र भावनात्मकरूपमा एकताबद्ध तथा अनुशासित र प्रशिक्षित कार्यकर्ताको ऊर्जाशील अभियानका रूपमा विकास गर्न आफूले उम्मेदवारी दिने बताउनुभयो ।

साथै उहाँले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले तीनै तहका आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन समस्त लोकतन्त्रवादीलाई एकताबद्ध पार्न राष्ट्रियरूपमा लोकतान्त्रिक पुनःजागरण अभियान सञ्चालन गर्नेलगायत विभिन्न १३ एजेन्डा अघि सार्नुभएको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस